सूचना तथा सञ्चार प्रविधि सम्बन्धी प्रदर्शनी क्यान इन्फोटेकको २७ औं संस्करणमा दर्शकहरूले उत्साहजनक सहभागिता जनाउँदै आइरहेका छन्।

बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेकमा विभिन्न उमेर समूहका अवलोकनकर्ताहरू सहभागी हुँदै आएका छन्। प्रदर्शनी वैशाख ७ देखि १२ गतेसम्म सञ्चालन हुनेछ। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इन्टरनेटमा करको दर पुनरावलोकन लगायतका मुद्दालाई छिट्टै सम्बोधन गर्ने बताएका छन्।

मन्त्री कार्कीले क्यान महासंघ लगायतका निजी क्षेत्रबाट उठाइएका मुद्दाहरू, हाम्रो विगतको अनुभव, विगतमा हामीले तयार पारेका नीति तथा समय अनुरूप बदलिएको सोच अनुसार सूचना तथा सञ्चार प्रविधि नीति ल्याउने गरी कार्य गरिरहेको बताउँदै क्यान इन्फोटेकको २७ औं संस्करणमा स्टार्टअप र इन्नोभेसनलाई पनि प्राथमिकतामा राखेर प्रदर्शनी भइरहेकोमा खुसी व्यक्त गरे।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले सूचना तथा सञ्चार प्रविधिले विकासको निम्ति ड्राईभरको काम गर्न सक्ने र यसको प्रयोगबाट लागत घटाउन मदत पुग्ने भएकाले राष्ट्रिय योजना आयोगले सोही अनुरूप कार्य गरिराखेको बताए।

नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले क्यान इन्फोटेकले मुलुकलाई समृद्ध बनाउन नेपालमा रहेका प्रविधिहरूको उपलब्धताको बारेमा जानकारी दिने भएकैले नास्टले क्यानसँग सहकार्य गरिरहेको बताए। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका नौलो प्रविधिहरूको प्रदर्शन गर्ने उद्देश्यसहित प्रदर्शनी आयोजना गरिएको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले जानकारी दिए। कोभिड १९ का कारण पटक–पटक स्थगित भएर वैशाख ७ देखि १२ गतेसम्म हुन लागेको क्यान इन्फोटेकको २७ औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा ६ दिन सञ्चालन हुने भएको छ।

क्यान इन्फोटेक २०२२ मा १७० स्टलहरू विभिन्न खण्डमा रहेका छन्। जसमा ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ आदि मुख्य खण्ड रहेका छन्। ब्राण्डिङ खण्डमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ४८ वटा कम्पनी एवं उत्पादनहरूको सहभागिता रहेको छ।

फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा वित्तीय एवं सम्बन्धित १२ वटा संस्थाहरूको सूचना तथा सञ्चार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यस सम्बन्धी उत्पादनहरू रहेका छन्। स्टार्टअप र इन्नोभेसन खण्डमा २६ वटा स्टार्टअप र इन्नोभेसनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्ट र आइडियाको प्रदर्शनी गर्दै छन्।

यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो