बागमती प्रदेशको राजधानी हेटौंडामा बुधाबारदेखि सूरु भएको एशियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिताको बिहिबार दोस्रो दिन भएको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिता २०८० को उद्घाटन गरेका हुन् ।

नेपाल बुद्धिचाल महासंघको विशेष आयोजना तथा नेपाल खेलकुद महासंघ, हेटौडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा गरिएको खेलको बिहिबार  दोस्रो दिन बाङ्गालादेशी र भारतीय खेलाडी अग्रपङ्गतीमा रहेका छन् ।

हेटौंडा-४ स्थित नारायणी मलमा रहेको होटल सामनामा जारी प्रतियोगिताको दोस्रो दिनमा बुद्धिचाल प्रतियोगिता२०८० को तेस्रो राउण्ड समाप्त हुँदा २३९३ रेटिङ भएका यस प्रतियोगिताका शीर्ष वरियताका भारतीय खेलाडी सुभयान कुण्डुले तेस्रो चरणमा नेपाली युवा (यु-१५) खेलाडी पुरुषोत्तम सिलवाल माथी जीत निकाल्दै ३ अंक जोडी शतप्रतिशत अंक प्राप्त गर्न सफल भएका हुन् ।

त्यसैगरी अर्को नेपाली युवा खेलाडी एरिना आईएम सुश्रुत दाहाललाई पछि पार्दै दोस्रो वरियताका बंगलादेशी आईएम मोहमद मिजाउदिन पनि ३ अंक बटुुल्न सफल भए ।

समान ३ अंकका साथ बंगलादेशी एफएम द्वोय मोहमद सरिफ होसैन र नयेम हक भारतीय एफएम अर्बिन्देर प्रित सिंह, एरिना एफएम सौरभ चौबे, श्रयण मजुम्दार र अमरदीप बर्ट्टके अग्रपंतिमा रहन सफल भएका छन्।

बंगलादेशी अन्तराष्ट्रिय मास्टर (आईएम) अबु सुफियान शकिल भारतीय १७६३ रेटिङ भएका कमद मिश्रसंग बराबरमा रोकिएपछि समान २.५ अंक छ भने बंगलादेशी एफएम देवराज चतर्कीलाई दोस्रो झड्का दिँदै भारतीय खेलाडी राज देव, राहुल गुरुङ र फतिमा मरीउम समान साढे दुई अंकका साथ पछ्याउँदै छन्।

वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल, श्रीलंकन महिला अन्तराष्ट्रिय मास्टर(डब्लु एफएम) सचिनी रानासिंघे, पुरुषोत्तम सिलवाल, एआईएम सुश्रुत दाहाल, एफएम अहमेद शेख नासिर, पुर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाई, युवा खेलाडी शुभम् श्रेष्ठ, राजन सुवेदी, मोहित कुमार सोनी, आसुतोष कुमार, अमित धोङ्दियाल, मोहमद रसिद सिद्दिकी, पंकज बोर्से, अक्षत नेगी, आशिष राई, आदित्य बर्कते, झिल्के मोक्तान, सोम्यजित दास, देवौस्निक डे, अमन कुमार, आर्तिन्जय साह, धिरेन राई, अभिनव चौहान र कृष्ण सिग्देल समान २ अंकका बनाउन सफल भएका छन्।

पुरस्कारका लागि कुल ५,८७,५५० पाँच लाख सतासी हजार पाँच सय नगद पुरस्कार रहेको र प्रथम हुनेलाई १,२५,०००। एक लाख पच्चिस हजार रुपैयाँ प्रदान गरिने कार्यक्रम संयोजक तथा नेपाल खेलकुद महासंघ र नेपाल बुद्धिचाल महासंघको महासचिव धरम बहादुर लामाले बताए ।
लामाले बताए अनुसारै उत्कृष्ठ १५ र क्याटवरी २३ गरी कुल ३८ जना पुरस्कृत हुने कार्यक्रम रहेको छ ।

८५ जना खेलाडी सहभागी भएको खेलमा शुक्रबार भने ७० जना खेलाडीहरुले खेल्ने छन् ।