बाजुराको जगन्नाथ र स्वामी कार्तिक गाउँपालिकाको वीचमा पर्ने मुगु–कर्णालीबाट १९०२ मेगावाट क्षमताको जलबिधुत उत्पादन गर्न सकिने एक अध्यायनले देखाएको छ । नेपाल सरकार जलस्रोत विभाग अन्तर्गतको विधुत उत्पादन कम्पनि लिमिटेडले हालै गरेको स्थलगत पूर्व सम्भाव्यता अध्ययनले यस्तो देखाएको हो ।

विधुत उत्पादन कम्पनि लिमिटेडका प्रमुख सूर्य पाण्डेयको नेतृत्वमा स्थलगत अध्ययनबाट फर्केको प्राविधिक टोलीले सोमवार आयोजनाबारे जानकारी दिंदै सुदूरपश्चिम प्रदेश सरकारसँग सो ठाउँसम्म पुग्ने सडक लगायतका आवश्यक भौतिक पूर्वाधार निर्माण गरिदिन आग्रह गरेको छ । प्रदेश सरकारसँगको छलफलमा टोलीले सो जलासययुक्त जलविधुत आयोजनाको निर्माणस्थल बाँधदेखि पावर हाउस, उत्पादन तथा प्रभावित र लाभान्वित हुने क्षेत्र तथा समुदायबारे दृश्य प्रतिवेदन प्रस्तुत गरेको हो ।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म चर्चामा रहेको पश्चिम सेती, पञ्चेश्वर, अपर कर्णालीपछिको तेस्रो ठूलो आयोजना हुनसक्ने सो विज्ञ टोलीको भनाई छ । बाजुराको मुगु कर्णालीमा जलाशय बनाएर १९०२ मेगावाट क्षमताको जलबिधुत उत्पादन गर्न सकिने उक्त प्रस्तावप्रति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट उत्साहित हुनुभएको छ । छलफलमै आर्थिक प्राविधिक तथा बतावरणीय लगायतका सबै तबरले आयोजनाको अध्ययन गरी छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सुदूरपश्चिमको जलस्रोत देशकै खानी भएकाले उपभोगमा ल्याउनसके मात्रै समृद्ध नेपाल बन्ने भन्नुहुँदै उहाँले भन्नुभयो– ‘प्रदेश सरकार आयोजना स्थलसम्म जाने सडकदेखि आयोजना निर्माणमा लगानी गरेर साझेदारी गर्न तयार छ, हामी आर्थिक र सामाजिक सुरक्षा पनि दिन्छौ ।’ छलफलमा प्रदेश सरकारका मुख्यमन्त्री भट्टसँगै आर्थिक मामिलामन्त्री तारा लामा तामाङ प्रमुख सचिव रामेश्वर दंगाल, सचिव गंगावहादुर खरेललगायतका उच्चधिकारीको सहभागिता थियो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएको हो