ठेक्का लागेको ११ वर्षपछि सिन्धुली र मकवानपुर जोड्ने बाग्मती नदीको पक्की पुल निर्माण सम्पन्न भएको छ। मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–४ र मकवानपुरको बाग्मती–४ जोड्ने पुल निर्माण सम्पन्न भएको हो। हेटौडा– सिन्धुली– चतरा (मदनभण्डारी) राजमार्ग अन्तर्गत सिन्धुली र मकवानपुर जोड्ने गरी बाग्मती नदीमा पक्की पुल बनेको हो।

मदन भण्डारी राजमार्ग पश्चिम खण्ड आयोजना कार्यालय हेटौडाका अनुसार पुल २०६८ असार २९ गते स्वच्छन्द भैरव निर्माण सेवाले ठेक्का लिएको थियो। कम्पनीले ठेक्का लिएको लामो समयसम्म पुल नबनाउदा स्थानीयले सास्ती खेप्दै आएका थिए। भ्याट र पिएस बाहेक २० करोड ६२ लाख दुई हजार ९ सय ६० रूपैयाँमा पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो।

निर्माण कम्पनीले भने पेटी ठेक्कामा अन्य कम्पनीलाई निर्माण जिम्मा दिएर पुल निर्माण गर्न आलटाल गरेको थियो। ठेक्का सम्झौता गर्दा सडक विभागको पुल महाशाखाले यो पुलको रेखदेख गर्ने गरेको थियो। विभाग अन्तर्गत धरानमा रहेको तत्कालीन पुल सेक्टरले यसको रेखदेख गर्दै आएकोमा धरान– चतरा सिन्धुली– हेटौडा सडक आयोजना (हाल मदनभण्डारी राजमार्ग आयोजना) ले नै रेखदेख गर्ने गरी सम्झौता भएको थियो।

निर्धारित समयमा काम सम्पन्न नभएपछि २०७५ असोजसम्मका लागि आयोजनाले म्याद थप गरिदिएको थियो तर उक्त समयमा पनि काम सम्पन्न हुन सकेन। पटक पटकको म्याद थप हुँदा समेत पुल नबनेपछि आयोजनाले ठेक्का सम्झौताको भ्याट पिएसबाहेकको रकमको दश प्रतिशत हर्जना समेत असुलउपर गरी निर्माण सम्पन्न गर्न लगाएको इञ्जिनियर थापाले जनाए।

ठेक्का सम्झौताको ११ वर्षपछि पुल बनेर सवारी आवातजावत गर्न थालेको छ, उनले भने– सडकको दायाँबायाँ एप्रोच सडक कालोपत्रे गर्ने र तटबन्धको काम भइरहेको छ। उनले ठेकदारले समयमा काम नगरी आलटाल गरेकाले नेपाल सरकारको नियम अनुसार हर्जना जरिवाना तिर्न लगाइएको बताए। ११ वटा स्पान रहेको पुलको लम्बाइ चारसय ५ मिटर लामो रहेको आयोजनाले जनाएको छ। पुल निर्माण भएपछि सिन्धुली र मकवानपुर छोटो दूरीमा जोडिएको छ।

यसका साथै हेटौडा–सिन्धुली– चतरा (हाल मदन भण्डारी राजमार्ग) राजमार्ग अन्तर्गत बाग्मती नदीमा पुल बनेपछि बाग्मती प्रदेशको राजधानी हेटौडा जान सिन्धुली, रामेछाप, काभ्रे, दोलखा लगायतका जिल्लाका नागरिकलाई सजिलो एको छ। लामो समयदेखि पुल नबन्दा सडकको काम अन्तिम चरणमा पुगे पनि त्यो राजमार्ग सुचारु हुन सकेको थिएन। ११ वर्षदेखि पुलको जग र केही पिल्लर मात्रै हेरेर बसिरहेका स्थानीय पुल निर्माण भएसँगै हर्षित बनेका छन्।

पुलको अभावमा बाग्मती नदी तर्ने क्रममा कतिपय स्थानीयले ज्यान गुमाएका थिए। अब भने खोला तर्ने पुलको अभावमा ज्यान गुमाउनु नपर्ने भएको छ भन्दै स्थानीय खुसी भएका हुन्। तत्कालीन अवस्थामा सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रूपमा हेरिएको यो राजमार्गलाई हाल मदन भण्डारी राजमार्ग नामकरण गरिएको छ। मदन भण्डारी राजमार्गको पश्चिमतर्फ कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेडौडा महानगरपालिका–६ चौगडासम्म कुल ११५ किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो