राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ। नाम फिर्ताको समय सकिएपछि आजै आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिएको छ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङ मैदानमा छन्। पौडेललाई नयाँ आठ दलीय गठबन्धनको साथ छ। उता राप्रपा, रास्वपा र नेमकिपाले राष्ट्रपतिमा कसलाई समर्थन गर्ने निर्णय नगर्दा नेम्वाङलाई भने अहिलेसम्म आफ्नै पार्टी एमालेको मात्र समर्थन छ।

आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा ८८१ जना मतदाता गर्न पाउने जनाइसकेको छ। राष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधिसभा तथा राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संवैधानिक व्यवस्था रहेको हुँदा संघीय संसद्को ३३१ र सात प्रदेशका प्रदेशसभा सदस्य ५ सय ५० गरी कुल ८ सय ८१ जनाले मतदान गर्न पाउने छन्। राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र्र हुनेछ। संघीय संसद् र प्रदेशसभा सदस्यको मतभार पनि फरक(फरक हुनेछ।

संविधानको धारा ६२ (१) मा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यको मतभार संघीय कानुन बमोजिम फरक(फरक हुने उल्लेख छ। संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ। संघीय संसद्का सदस्यको कुल मतभार २६ हजार १ सय ४९ र प्रदेशसभा सदस्यको कुल मतभार २६ हजार चार सय हुन्छ। राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ।

निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुने र सोही दिन साँझ ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ।

नागरिक न्युजबाट साभार छ ।