विराटनगरमा जारी दोस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा झापाको दमक एकेडेमी पुगेको छ।

प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा दमकले धरानको एन्फा एकेडेमीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। खेलको निर्धारित समयमा समान १–१ गोलको बराबारी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो।

दमकका सोहन सिन्थांग, दीपक थापा मगर, रमन राई र ओमप्रकाश तामाङले गोल गरे। धरानका राहुल लिम्बू, माल्दिना आङथाक र सबिनाय कटुवालले गोल गरे। रितेश थापा मगर र सेवन थापा मगरको प्रहारलाई दमकका गोलरक्षक आयुष लिम्बूले उत्कृष्ट बचाउ गर्दै विफल पारे। म्यान अफ द म्याच दमकका गोलरक्षक आयुष भए।

खेलको २७ औं मिनेटमा दमकका राहुल लिम्बूले मध्यभागबाट एक्लै बल लगेर वान भर्सेस वानको स्थितमा गरेको प्रहार गोल भयो। ३५ औं मिनेटमा धरानका सोहन सिन्ताङले गोल गर्दै खेललाई बराबरी पारे। दमकका डिफेन्डर रोशन धिमालले हेड गर्दै गोलरक्षक आयुषलाई दिएको बल राम्रोसँग समाउन नसक्दाको फाइदा उठाउँदै धरानले गोल गर्‍यो। यो गोलसँगै खेल बराबारी भएपछि जित निकाल्न दमकले धेरै संघर्ष गर्नु पर्‍यो।

२५ औं मिनेटमा दमकका किस्मत लिम्बूले मध्यभागबाट लगेको बल डिफेन्सलाई बिट गर्दै गरेको प्रहार पोस्टमा लाग्दै बाहिरियो। ३० औं मिनेटमा धरानका सोहन सिन्तांगले डिबक्सभित्रबाट गरेको कडा प्रहार पोष्टमाथिबाट बाहिरियो। ५९ औं मिनेटमा दमकका आयुष श्रेष्ठले डिबक्समा गोलरक्षकलाई बिट गर्दै गरेको प्रहार पोष्टमाथिबाट बाहिरियो।

मिल्स गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आइतबारको खेल उदयपुरको गाईघाट ११ र विराटनगरको साइनो स्पोर्टस क्बलबीच हुनेछ।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो