नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा गठबन्धबाट साझा वा एकल उम्मेदबार हुने बताउनुभएको छ ।
सुनसरी सदरमुकाम इनरुवामा जिल्ला अस्पातलको निरीक्षण पछि शनिबार विहान सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री कार्कीले सो कुरा बताउनुभयो । स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता र औचित्यका आधारमा उम्मेदबार तय हुने उहाँको भनाई छ ।
अहिलेको गठबन्धन तिनै तहको निर्वाचनसम्म कायम रहने बताउनुहुँदै राष्ट्रिय एकता, लोकतन्त्र र आन्तरिक एकतालाई मजबुत पार्न स्थानीय तहको निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा उम्मेदबार छनौट हुने बताउनुभयो । देशभर नै शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्ने र त्यो उत्सवको रुपमा हुने भएकाले सबैलाई सहभागी हुन आग्रह गर्नुभयो ।
पार्टीको अन्तरिक लोकतन्त्रका लागि १४ औं महाधिवेशनमा प्यानल भएपनि महाधिवेशन सकिए पछि पार्टीमा समूह, गुट, उपगुट, आरोप प्रत्यारोप सकिएको उहाँले दावी गर्नुभयो । मन्त्री कार्कीले स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलहरु मिलेर जाने कुरामा विमति नरहेको बताउनुभयो । तीनै तहको निर्वाचन यही सरकारले गर्ने उहाँले बताउनुभयो ।
मन्त्री कार्कीले पार्टी विधि र अनुशासनबाट सञ्चालित रहेको बताउँदै त्यसको पूर्ण पालना गर्नुपर्ने बताउनुभयो । पार्टीमा एकता कायम रहेको उहाँले प्रष्ट पार्नुभयो । पार्टीको निर्णय सबैले मान्नुपर्ने भएकाले सोही निर्णय मानेर अगाडि बढाउने र ७७ जिल्लामा नै केन्द्रीय प्रतिनिधि पठाएकाले एक ढिक्का भएर अगाडि बढ्नेमा शंका नगर्न आग्रह गर्नुभयो । प्रतिवेदनका अधारमा उम्मेदबार छनौट हुने समेत मन्त्री कार्कीले बताउनुभयो ।
सुनसरीको हकमा गठबन्धन बनाएर चुनाव लड्नेबारेमा सञ्चारकर्मीले राखेको जिज्ञासामा छलफल गरेर मात्र भन्न सकिने प्रष्ट पार्नुभयो । मन्त्री कार्की शनिबार नै सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकाको गौतमपुरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै देशभर पार्टी मजवुत रहेकाले सबै ठाउँमा चुनाब जित्ने दावी गर्नुहुँदै उच्च मनोवलकासाथ निर्वाचनमा होमिन आग्रह गर्नुभयो ।
यो समाचार गोरखापत्र बाट साभार गरिएको हो



















प्रतिक्रिया दिनुहोस्