कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा सीमा विवाद फेरि उत्पन्न भएको छ । पूर्णागिरि मेलालाई लक्षित गरी स्थानीयले महाकाली नदी किनारको सडकमा अस्थायी पसल (फड) सञ्चालन गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोकेपछि विवाद भएको हो । यसअघि उक्त क्षेत्रमा एसएसबीले सडक निर्माणमा पनि अवरोध गरेको थियो ।
मेला सुरु हुनेबित्तिकै स्थानीयले बजारको दक्षिणतर्फको सडकमा पसल सञ्चालन गर्न खोजेका थिए । दुई दिन एसएसबीले रोके पनि सुरक्षा निकायको समन्वयमा स्थायी संरचना नबनाउने गरी मेला अवधिका लागि मात्रै सञ्चालन गर्न दिने सहमति भएको छ । ‘एसएसबीले दुई दिन त पसल राख्नै दिएन,’ ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्तले भने, ‘पछि अस्थायी संरचनामै पसल थाप्न दिए ।’
ब्रह्मदेव क्षेत्र कञ्चनपुरमा सबैभन्दा बढी सीमा विवाद भएको क्षेत्र हो । एसएसबीले बेलाबेलामा विभिन्न बहानामा विवाद सिर्जना गर्दै आएको छ । यसअघि पनि सामुदायिक वनमा वृक्षरोपण गर्दा, ब्रह्मदेव बजारबाट दक्षिणतर्फ महाकाली नदी किनारमा नगरपालिकाले सडक निर्माण गर्दा र बजारछेउमै मुक्त हलियाका घर निर्माण गर्दा एसएसबीले अवरोध गरेको छ । गतवर्ष सिद्धनाथ सामुदायिक वनले वृक्षरोपण गर्दा पनि एसएसबीले रोकेको थियो । ‘हरेक वर्ष फड (पसल) लगाउँथ्यौं, अहिले एसएसबीले लगाउन रोक्यो,’ एक दशकदेखि सडक किनारमा पसल सञ्चालन गरिरहेका ब्रह्मदेवका स्थानीय प्रेमसिंह महताले भने, ‘अहिले पनि पसल राख्न त दियो, तर छाया हुने गरी केही बनाउन दिएको छैन, चर्को घाममा बस्नुपरेको छ ।’ उनका अनुसार उक्त क्षेत्रमा ४०/५० जनाका सडक किनारमा खेलौना, फास्ट फुड र रेडिमेड कपडाका पसलहरू सञ्चालनमा छन् । ‘एसएसबीले सामान्य विषयमा पनि विवाद गर्दै आएको छ, कहिले सामुदायिक वनमै बिरुवा रोप्द दिँदैन, कहिले सडक बनाउन दिँदैन,’ सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणसिंह महताले भने, ‘जहिल्यै विवादमात्रै हुन्छ, यसले सीमामा सम्बन्ध बिग्रिने गरेको छ ।’ उनका अनुसार सीमा विवाद हुदा एसएसबीले भारततर्फ आउजाउ गर्दा निकै दुःख दिने गरेको छ ।
यसअघि टनकपुर पुलदेखि उत्तरतर्फ ब्रह्मदेव बजारछेउको करिब सय मिटर सडक निर्माणमा पनि एसएसबीले अवरोध गरेको थियो । भीमदत्त नगरपालिकाले ठेक्का दिएर पनि सडक निर्माण हुन सकेको छैन । उक्त क्षेत्रमा भारतीय पक्ष आफैंले सडक बनाउन खोजेको थियो । स्थानीयले विरोध गरेपछि रोकिएको हो । ब्रह्मदेव बजारछेउमै ३ मुक्त हलिया परिवारका घर निर्माण पनि एसएसबीले नै रोकेको छ । झन्डै १० वर्षदेखि मुक्त हलिया परिवारले घर निर्माण गर्न सकेका छैनन् । मुक्तहलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत उनीहरूलाई सरकारले नै जमिन उपलब्ध गराएको हो । घर निर्माणका लागि पनि सरकारले नै रकम दिएको हो ।
यो समाचार कान्तिपुर बाट साभार गरिएको हो




















प्रतिक्रिया दिनुहोस्