बाढीपहिरोले पुरिएको मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थितहेडवर्क्सकाे  मुख्य अडिटको गेट खोलेर सुरुङको निरीक्षण गरिने भएको छ। मेलम्ची आयोजनाले ग्याल्थुमतर्फको अडिटबाट मेलम्चीको पानी डिवाटरिङ गर्ने काम गरिरहेको थियो। मेलम्चीको अम्बाथानतर्फको अडिट पोर्टल खोलेर मेलम्चीको सुरुङको निरीक्षण गर्न लागिएको हो।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले एक/दुई दिनभित्रै मेलम्चीको अम्बाथानतर्फको अडिट पोर्टलको गेट खोलेर सुरुङको निरीक्षण गर्न लागिएको बताए। ‘ग्याल्थुमदेखि अम्बाथानसम्म ८ किलोमिटर सुरुङमार्ग छ। त्योमध्ये चार किलोमिटर सुरुङ सरसफाइको काम सम्पन्न गरिसक्यौं।

अहिले अम्बाथानतर्फको पानी डिवाटरिङ गर्ने काम भइरहेको छ। सम्भवतः शनिबार अम्बाथानतर्फको गेट खोलेर निरीक्षण गरिनेछ।’ आयोजनाले शनिबार गेट खोलेसँगै मेलम्चीको हेडवक्र्स क्षेत्रमा रहेको सुरुङको वास्तविक अवस्था बाहिर आउनेछ। सिनियर डिभिजनल इन्जिनियर कुँवरले मेलम्ची सुरुङको डिवाटरिङ गर्ने काम ८० प्रतिशत सकिएको बताए। ‘ग्याल्थुमतर्फको सुरुङमा भने लेदो पसेको छैन,’ उनले भने, ‘हामीले अम्बाथानतर्फको पोर्टलमा पनि धेरै समस्या नहुने अनुमान गरेका छौं।’

समितिले अम्बाथानको पोर्टल खोलेर एक दिन टनेलमा अक्सिजन उपलब्ध गराउनका लागि खाली छाड्ने तयारी गरिरहेको छ। ‘हामी अम्बाथानको गेट नम्बर ३८ र गेट नम्बर १७ खोलेर सुरुङ सरसफाइको काम अघि बढाउनेछौं,’ उनले भने, ‘सुरुङको निरीक्षण र सरसफाइको काम करिब एक साताभित्रै सक्ने लक्ष्य राखेका छौं।’ समितिले सुरुङमा कुनै पनि क्षति नभएको खण्डमा फेरि सुरुङमा पानी पथान्तरणको काम प्रारम्भ गर्नेछ। समितिका सिनियर डिभिजनल इन्जिनियर कुँवरले मेलम्चीको हेडवक्र्स क्षेत्रबाट करिब १ लाख ३० हजार घनमिटर क्षेत्रफलबाट ग्रेगान हटाएको बताए।

बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स क्षेत्रमा २० मिटर उचाइ अग्लो गेग्रान थुप्रिएको थियो। गत असार १ गते र साउन १५ गते आएको बाढीपहिरोले मेलम्चीको हेडवक्र्स क्षेत्रमा अत्यधिक मात्रामा ग्रेगान थुप्रिएको थियो खानेपानी मन्त्री उमाकान्त चौधरीले साढे दुई महिनाभित्रै अर्थात् चैत मसान्तभित्रै मेलम्चीको पानी अस्थायी रूपमा उपत्यका ल्याउने घोषणा गरेका थिए।

मेलम्ची खानेपानी आयोजनाको गेग्रान हटाउने काम गत माघको दोस्रो सातादेखि सुरु भएको छ। सिनियर डिभिजन इन्जिनियर कुँवरले सरकारले तोकेको लक्ष्य अनुसारै मेलम्चीको पानी अस्थायी रूपमा उपत्यकामा झार्ने गरी काम भइरहेको बताए।

‘मेलम्चीको हेडवक्र्सको मुख्य सुरुङतर्फ कुनै क्षति नभएको खण्डमा सररकारले तोकेको समयसीमाभित्रै मेलम्चीको पानी उपत्यका ल्याउनेछौं,’ उनले भने। सरकारले भ्याटसहित ३६ करोड ४५ लाख ३३ हजार लागतमा मेलम्चीको ग्रेगान हटाउने काम भेरिएसनमार्फत सिनो हाइड्रोपावरमार्फत गराएको हो।

अहिले भेरिएसन स्वीकृत भएर ठेकेदार कम्पनी साइटमा खटिसकेको छ। आयोजनाका अनुसार हेडवक्र्स क्षेत्रमा खोलाको सतहभन्दा करिब २० मिटर उचाइ क्षेत्रमा गिटी, बालुवासहितको गेग्रान थुप्रिएको छ। निर्माणाधीन हेडवक्र्स तथा सुरुङमा बाढीपहिरोले कति क्षति पुर्‍याएको विषय अहिलेसम्म खुलेको छैन।

हेडवक्र्समा रहेको कफर ड्यामदेखि अम्बाथान पोर्टलसम्मको करिब दुई किलोमिटर नदी खण्डमा २० मिटर उचाइ क्षेत्रफलमा ढुंगागिटी तथा गेग्रानले भरिएको छ। यो आयोजनामा एसियाली विकास बैंकसँगको साझेदारीमा हालसम्म ५१ अर्ब रूपैयाँ खर्च गरिसकेको छ। आयोजनाको सुरुङमार्ग, हेडवक्र्सलगायत पूर्वाधारमा अहिलेसम्म ३० अर्ब रूपैयाँ खर्च भइसकेको छ। सुन्दरीजलबाट काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणालीलगायत संरचना निर्माणका लागि अहिलेसम्म २१ अर्ब रूपैयाँ खर्च भएको छ।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो