भाद्र,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष सहितको टोलीद्वारा मंगलबार पालिकाको वडा नं ५ र ६ मा भए गरेका विभिन्न कृषि कार्यको अनुगमन गरेको छ ।
गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रिन (नेपाली), प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी र कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी सहितको टोलीले गाउँपालिकाको वडा न. ५ र ६ मा रहेको व्यवसायिक कृषि फर्महरुको अनुगमन साथै कृषकहरुसँग अन्तरक्रिया गरेको हो ।
विगत आर्थिक वर्षहरुमा संचालित कार्यक्रमहरु वडा न. ५ मा रहेको तिलगंगा महिला बहुउदे्श्यीय सहकारी संस्थाद्वारा संचालन गरिएको कोल्डरुम, अनुष्का ड्रागन फर्ममा लगाएको ड्रागन फ्रुट खेती र वडा न. ६ मा निर्माणाधिन कोल्ड स्टोर र प्लाष्टिक टनेल भित्र लगाइएको गोलभेडा खेतीको स्थलगत अनुगमन गरिएको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी बताउनुभयो ।
अनुगमनको क्रममा कोल्ड रुममा राखिएको आलुको अवस्थाको वारेमा जानकारी लिनुको साथै अगामी दिनमा कोल्ड रुम लक्षित उत्पादनको वारेमा छलफल भएको बताइएको छ । यसैगरि टोलीले धादिङ फाँटमा लगाइएको ड्रागन फ्रुटको उत्पादनको अवस्था र बजार व्यवस्थापनको विषयमा अनुष्का ड्रागन फर्मका संचालक नारायण रेग्मीसँग जानकारी लिएको छ । यसैगरी प्लाष्टिक टनेल भित्र लगाएको गोलभेडा उत्पादनको अवस्था, बजार व्यवस्थापन र देखिएका समस्याहरु र सम्भावित समाधानका विषयमा अन्तरक्रिया गरिएको चौधरीले बताउनुभयो । साथै टोलीले वडा नं ६ को डुम्रेकुनामा निर्माणाधिन अवस्थामा रहेको कोल्ड स्टोरको वारेमा समेत अनुगमन गरेको छ ।
अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष स्याङ्तानले सहकारी संस्था तथा कृषकहरुलाई उत्पादन, बजारीकरण, भण्डारण र प्रशोधनको क्षेत्रमा प्रोत्साहन गर्नको लागि गाउँपालिकाले प्राथमिकताका साथ कार्यक्रमहरु अगाडी बढाइएको बताउनु भयो । प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गरि थप कार्यक्रमहरु ल्याउने प्रयास भइरहेको हुँदा उत्पादन सँगै प्रशोधनको कार्य गरि रोजगारी सृजना गर्ने कार्यमा लाग्न उहाँले आग्रह गर्नुभएको छ ।






















प्रतिक्रिया दिनुहोस्