नेपाली उपभोक्ता संरक्षण महासंघ प्रदेश १ दमक झापाले जिल्ला प्रशासन कार्यालयहरु तथा सरोकारवाला निकायहरुलाई ध्यानकर्षण गराएको छ ।
अध्यक्ष नारायण योङहाङ र महासचिव विष्णुप्रसाद पोखरेल द्धारा हस्ताक्षर गरिएको विज्ञप्ती सहित ध्यानकर्षण गराएको हो ।

पछिल्लो समयमा प्रदेश १ भित्रका झापा,मोरङ, सुनसरी लगायतका बिभिन्न जिल्लाहरुमा दैनिक उपभोग्य खाद्य सामाग्रिहरु चामल, चिउरा, भुजा लगायतमा अस्वभाविक मूल्य बृद्धि भइरहेको भन्दै ध्यानकर्षण गराएको जनाएको छ ।

विज्ञप्तीमा यस्तो लेखिएको छ ।

मिति २०७९-०५-०७ गते

प्रेस बिज्ञप्ति
पछिल्लो समयमा प्रदेश १ भित्रका झापा,मोरङ, सुनसरी लगायतका बिभिन्न जिल्लाहरुमा दैनिक उपभोग्य खाद्य सामाग्रिहरु चामल, चिउरा, भुजा लगायतमा अस्वभाविक मूल्य बृद्धि भइरहेको छ । थोक तथा खुद्रा विक्रेताहरुले उपभोक्ताले देख्ने गरी अनिवार्य रुपमा मूल्य सूचि टाँस गर्नु पर्नेमा त्यो समेत गरेको पाईदैन । यसप्रति स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालयहरु तथा सरोकारवाला निकायहरुको ध्यानकर्षण गराउदछौ ।
यसैगरी चाउचाउ लगायतका बिभिन्न प्याकेजिङका नुडल्सका सामाग्रिहरुमा तौल घटाएर बजारमा पठाएको र मूल्य भने अझ बढाएर पठाएको स्वयं ब्यवसायीहरुले नै बताउन थालेको प्रति पनि हाम्रो गम्भिर ध्यानकर्षण भएको छ । स्थानीय तथा जिल्ला स्तरीय अनुगमन समितिहरुले यस बिषयमा बजार अनुगमन तत्काल गरोस भन्ने हाम्रो माग रहेको छ । यसमा यस नेपाली उपभोक्ता संरक्षण महासंघ प्रदेश १ को समेत प्रतिनिधित्व गराउन सम्बन्धित सरोकारवाला निकायहरुको ध्यानकर्षण गरादछौ ।
उपभोक्ता हक, हित, अधिकार सम्बन्धी गरिएको ब्यवस्था तत्काल लागु गर्न जोडदार माग गर्दछौ । उत्पादक वा पैठारीकर्ताले लेबलमा खुलाउनु पर्ने कुराहरु उल्लेख नगरेको पाईएकाले यस बिषयमा पनि सरोकारवाला निकायहरुको ध्यानकर्षण होस भन्ने उपभोक्ताहरुको तर्फबाट हाम्रो माग रहेको छ ।
उत्पादकहरुले निम्नअनुसार ध्यान दिने ब्यवस्था मिलाउन संघीय, प्रदेश र स्थानीय सरकारसंग माग गर्दछौ ।
उत्पादकको नाम, ठेगाना र उद्योगको दर्ता नम्बर,
खाद्य पदार्थ, औषधि र सौन्दर्य सामाग्री जस्ता वस्तुमा त्यस्ता वस्तुको मिश्रण, मिश्रणका तत्व, परिमाण र तौल,
गुणस्तर निर्धारण भएको वस्तु भएमा त्यस्तो वस्तुको गुणस्तर,
वस्तु उपभोग गर्ने तरिका र त्यस्तो वस्तु उपभोग गरेबाट हुन सक्ने नकारात्मक प्रभाव (साइड इफेक्ट, निश्चित अवधिभित्र उपभोग गरिसक्नु पर्ने वस्तु भए त्यस्तो अवधि,
वस्तुको बिक्री मूल्य, ब्याच नम्बर र उत्पादन मिति,
इलेक्ट्रोनिक, हार्डवेयर, विद्युतीय वा यान्त्रिक वा लामो समयसम्म प्रयोगमा रहने वस्तु भए त्यस्तो वस्तुको ग्यारेण्टी वा वारेण्टी र ग्यारेण्टी वा वारेण्टी मिति तथा सो वस्तुसँग सम्बन्धित कानून बमोजिम
अन्य आवश्यक कुरा, ग्यारेण्टी वा वारेण्टी भएको अवस्थामा कुनै त्रुटि देखिएमा त्यसको शोधभर्ना दिने वा निश्चित अवधिसम्म मर्मत गरिदिने व्यवस्था,
प्रज्वलनशील, दुर्घटनाजन्य वा सजिलैसँग टुटफुट हुन सक्ने वस्तु भए त्यस्तो वस्तुको सुरक्षाको लागि अपनाउनु पर्ने पूर्वसावधानी सम्बन्धी विवरण,
वस्तुमा लाग्ने सबै प्रकारका कर समावेश गरी हुन आउने अधिकतम खुद्रा बिक्री मूल्य,
वस्तु प्रयोग गर्नुपूर्व कुनै प्रक्रिया पूरा गर्नु पर्ने भए त्यस्तो प्रक्रिया र त्यस्तो प्रक्रिया नपुर्याई प्रयोग गर्दा हुन सक्ने हानि, नोक्सानी,
मानव स्वास्थ्यलाई हानि पुर्याउने खालका पदार्थहरुको लेबलमा चेतनामूलक सन्देश, चित्र वा चिन्हको प्रयोग जस्ता बिषयमा गम्भिर बन्न हामी सरोकारवाला पक्षहरुसंग माग गर्दछौ ।

महासचिव                                                                                                        अध्यक्ष
विष्णुप्रसाद पोखरेल                                                                                 नारायण योङहाङ