हेटौंडा -१२  /  हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को सहयोग र हेटोंडा–१२ खेलकुद विकास समितिको आयोजनामा प्रथम हेटौंडा १२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ ।

हेटोंडा–१२ खेलकुद विकास समितिका संयोजक दिनेश चौलागाईको सभाध्यक्षता हेटौंडा १२ नम्वर वडाध्यक्ष अर्जुनप्रसाद तिवारीको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन भएको हो ।

हेटौंडा -१० स्थित तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालय तथा नारायणी कलेज मुख्य प्रायोजक रहेको भलिबल प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा -११ टिम विजयी भएको छ ।

हेटौंडा–१९ लाई २५–२१, २५–१२ र २५–२२ को सेटले हेटौंडा ११ विजयी भएको छ।

यसैगरी दोस्रो खेलमा हेटौंडा १२ टिम विजयी भएको छ । हेटौंडा–६ लाई २५–१२, २५–१६ र २५–१५ को सेटले हेटौंडा–१२ विजयी भएको हो।

पहिलो खेलमा हेटौंडा ११ का निश्चल राना मगर दोस्रो खेलमा हेटौंडा १२ का कुशल लो म्यान अफ द म्याच घोषित भएका छन् ।

भलिबल खेलको विकास र हेटौंडा–१२ को प्रतिष्ठा पहिचान गराउने उद्देश्यले माघ १९ गतेसम्म प्रतियोगिता आयोजना गरेको कार्यक्रम संयोजक मनोज लामा स्याङतानले बताए ।

उनले हेटौंडामा रहेको १९ वटा वडा मध्ये ७ वटा वडाले प्रतियोगितामा सहभागिता जनाएको छ भने बिहिबार वडा नम्वर १३ विरुद्ध १२, हेटौंडा–६ विरुद्ध १५ र हेटौंडा १७ विरुद्ध १९ वडाको टिम बीच खेलको भिडन्त हुने बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयाँ, उपबिजेता टिमले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमााणपत्र प्राप्त गर्ने छन् । विधागततर्फ उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने संयोजक स्याङतानले बताएका हुन् ।
हेटौंडा–१२ स्थित बुद्ध माध्यमिक विद्यालयमा ४ दिनसम्म सञ्चालन हुने माघ १९ गते समापन हुने छ।