महानगरपालिकाका मेयर बालेन्द्र शाहले पूर्वाधार निर्माणका कामलाई तीव्रता दिन सम्बन्धित क्षेत्रबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ । वडा नं १३, १४, १५ र २६ मा खानेपानीका लागि च्यातिएका सडक कालोपत्र गर्न कति समय लाग्ने उनले जिज्ञासा राखे । कामपाका पूर्वाधार विकास क्षेत्रमा काम गरिरहेका सरोकारवालासँगको छलफलमा उनले यस्तो प्रश्न राखेका हुन् । त्यसैगरी वडा नं २ देखि ५ मा खानेपानीको पाइप बिछ्याउने काम कसरी भइरहेको छ भनेर उनले काठमाडौं भ्याली ड्रिङ्किङ वाटर लिमिटेडका पदाधिकारीलाई प्रश्न गरे । सो अवसरमा विद्युत प्राधिकरणका पदाधिकारीलाई समेत प्रश्न गरिएको थियो । रानीबारी, बालुवाटार, विशालनगर, धुम्बाराही, हान्डिगाउँ, मालीगाउँ, नयाँ बसपार्कलगायतका विभिन्न स्थानमा सडकमा छरिएका विद्युतीय तार कहिले संकलन गर्ने भनेर सोधिएको थियो । तर, खानेपानीको पाइप बिछ्याउनका लागि च्यातिएका सडकको कालोपत्र वर्षाको मौसमका कारण समयमा हुन नसकेको अधिकारीहरुले बताएका छन् । मेयरले सहरी व्यवस्थापनका लागि व्यक्तिगत र संस्थागत व्यवहारमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए । सेवा प्रदायकको व्यवहारमा परिवर्तन भए सहरी सुविधामा सुधार गर्न सकिने उनको भनाइ थियो ।रासस