तीज पर्वसँग र यहाँस्थित नाच्ने डाँडाको पुरानो साइनो छ । तीज नजिकिँदो छ । यसपालि नाच्ने डाँडा मेलामय हुने भएको छ । बितेका दुई वर्ष कोभिड–१९ ले तीज मेला रोकेको थियो ।

गलकोट नगरपालिका–७ मल्मस्थित नाच्नेडाँडा ऐतिहासिक थलो हो । त्यहाँ रहेको दुईसय ६९ वर्ष पुरानो सिद्देश्वर शिवालयले पनि नाच्ने डाँडाको महिमा बढाएको छ । दशकौँ अघिदेखि नाच्नेडाँडामा तीज मेलाको थिति बसेको हो ।

तीजमा गलकोटभरि र बाहिरबाटसमेत आगन्तुक मेला हेर्न आउँछन् । तीजमा महिला दिदीबहिनी भेला भई नाचगान गर्न थालेपछि पछि कालान्तरमा नाच्ने डाँडा नाम रहन गएको हो । अहिले त्यहाँको तीज मेला संस्थागत छ ।

नाच्ने डाँडा संरक्षण समाजले सालिन्दा तीज मेलाको आयोजना गर्छ । यो वर्ष यही भदौ १३ र १४ गते मेलाको आयोजना गरिएको समाजका अध्यक्ष सविता मरासिनीले जानकारी दिनुभयो । मेलामा खुला तीज गीत प्रतियोगिता, सामूहिक दर खाने कार्यक्रम, महिला घैँटोफोडलगायतका कार्यक्रम तय गरिएको छ ।

कार्यक्रमस्थलमा नवनिर्मित मञ्चको उद्घाटन पनि सोही अवसरमा गरिने भएको छ । मेलामा विभिन्न कलाकारहरुको साङ्गीतिक प्रस्तुती पनि रहनेछ । “परापूर्वकालदेखि नै नाच्ने डाँडामा तीजको कार्यक्रम हुँदै आएको हो, पछिल्लो समय मेलाको रुपमा निरन्तरता दिएका छौँ”, समाजका अध्यक्ष मरासिनीले भन्नुभयो ।

समाजले मेलाको अवसरमा ज्येष्ठ, समाजसेवी महिला र आगन्तुक चेलीलाई अभिनन्दनसमेत गर्दै आएको छ । मेलाले तीजको पुरानो परम्परालाई जोगाउन मद्दत पुगेको समाजले जनाएको छ । मौलिक तीज गीत, नृत्य, दर खाने कार्यक्रम आदिले नयाँ संस्कृतिको पुस्तान्तरणमा पनि सघाउने विश्वास लिइएको छ ।

तीजमा आउने ब्रतालु महिला र अरु भक्तजनका लागि सिद्धेश्वर शिवालयमा पूजाआजाका लागि पनि विशेष प्रबन्ध मिलाइने भएको छ । शिवालय सेवा समितिका अध्यक्ष ज्ञानबहादुर थापाले श्रद्धालुलाई लक्ष्य गरी मन्दिर परिसरमा एकसय आठ शिवलिङ्ग मण्डप निर्माण गरिएको बताउनुभयो । भक्तजन र दाताको सहयोगमा झण्डै रु. ४० लाख खर्चेर सो मण्डप तयार गरिएको हो ।

त्यस क्षेत्रमै पहिलोपटक शिवलिङ्ग मण्डप बनेपछि गएको साउन महिनाका पाँच वटै सोमबार सिद्धेश्वरमा भक्तजनको भीड लागेको थियो । विसं १८१० मा मन्दिर निर्माण भएको अध्यक्ष थापाले जानकारी दिनुभयो । पाण्डवखानी भन्ने ठाउँबाट एक साधु आई त्यहाँ बस्न थालेपछि शिवालय स्थापना गरिएको गाउँका अगुवा बताउँछन् ।

उक्त मन्दिर अहिले जीर्ण अवस्थामा छ । समितिले मन्दिरको पुनःनिर्माणसहित वृहत्तर विकास योजना अघि बढाएको छ । पुरातात्विक कलाकौशल झल्कने गरी मन्दिर पुनःनिर्माण गरिने जनाइएको छ । मन्दिरसहित धर्मशाला, सभाकक्षलगायतका संरचना त्यहाँ बन्नेछन् ।

झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा शिवरात्रि र बालाचर्तुदर्शी पर्वमा ठूलो मेला लाग्ने गर्छ । विशेष पर्वबाहेक दैनिक पूजाआजासमेत हुने गरेको छ । जिल्लाकै पुरानो र महिमायुक्त शिवालयका रुपमा सिद्धेश्वरले चिनारी पाएको छ । —रासस