हेटौंडा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज विजय गौतमले प्रतिवद्दतापत्र सार्वजानिक गरेका छन् । आसन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट मकवानपुर क्षेत्र नम्बर–१ मा प्रत्यक्षतर्फको उम्मेद्वार बनेका विजय गौतमले सोमबार प्रेस सेन्टर मकवानपुरले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा आफ्नो ८ बुँदै चुनावी प्रतिवद्दतापत्र सार्वजानिक गर्दै भौतिक पूर्वाधार विकास, पर्यटन क्षेत्र र उद्योग र उद्यमशीलताको क्षेत्रलाई प्राथमितामा राखेर काम गर्ने गर्नेगरी प्रतिवद्दतापत्र सार्वजानिक गरेकाे जानकारी गराएका छन् ।
भौतिक पूर्वाधार विकासको कार्य अन्तर्गत आफू सांसदमा निर्वाचित भएपछि बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकालाई महानगरपालिका बनाउनका लागि आफूले प्रयत्न गर्ने गौतमले प्रतिवद्दतापत्र मार्फत जानकारी गराएका छन् । ग्रेटर हेटौंडा चक्रपथ निर्माणलाई प्राथमिकतामा राख्ने, हेटौंडा–गढी–बकैया–बागमती जोड्ने मुख्य तथा सहायक सडकहरुको निर्माणका लागि पहल गर्ने, ग्रामिण बस्तीमा एकवर्षै चल्ने सडकका लागि पहल गर्ने र राजर्माग ऐन अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको सडक बिस्तार गर्दा पीडितहरुलाई उचित मुआब्जा र क्षतिपूर्ती दिलाउनका लागि पहल गर्ने प्रतिवद्दताका साथ चुनावी मैदानमा होमिएको जानकारी गराएका छन् ।
पर्यटन क्षेत्रको विकासका लागि हेटौंडा, मकवानपुरगढी, बकैया र बागमती क्षेत्रका प्राकृतिक, धार्मिक (मठमन्दिर, गुम्बा, चर्च, मस्जिद) र सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने, ऐतिहासिक मकवानपुर गढी दरबार क्षेत्रलाई संरक्षण एवम् सम्बर्धन गर्दै पर्यटकीय गन्तब्यको रूपमा विकास गर्ने र होमस्टे लगायत आन्तरिक पर्यटनको विकास गर्दै स्थानीय रोजगारी सिर्जना गर्ने प्रतिवद्दतापत्र सार्वजानिक गरेका छन् ।
उद्योग र उद्यमशीलता क्षेत्रको विकासका निम्त्ति हेटौंडा औद्योगिक क्षेत्रको विस्तार गरि नयाँ नयाँ उद्योग स्थापना गर्न विशेष पहललाई अगाडि बढाउने योजनममा रहेको उनले बताए । हाल सञ्चालनमा आउन नसकेको मयूरधाप औद्योगिक क्षेत्रको संचालन गर्नका पहल चलाउने बताउँदै उनले साना तथा घरेलु उद्योग प्रवद्र्धन गर्ने, युवाका लागि सहुलियत ऋण र स्टार्टअप सहयोग गरि उद्यमशीलता विकास गर्ने बताए । वन र वातावरणको संरक्षणको लागि नदी र प्राकृतिक स्रोतको संरक्षण लागि बागमती, बकैया,लगायतका ठाउँमा स्थानीय जग्गाो नापी समस्याको समाधान गर्दै लालपूर्जा वितरणलाई प्राथमिकतामा राखिएको उनले बताए ।
अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रेस सेन्टर नेपालकी केन्द्रीय सचिव अञ्जली थापा र प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एमपी शर्मा लगायतको उपस्थिति रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्