हेटौंडा । नेपाल सरकारको प्रधानमन्त्रीमा नियुक्त भएका बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपनि रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति बालेन्द्र शाह (बालेन)लाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेद्वार बनाएका बालेनले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापा क्षेत्र नम्बर–५ बाट ४८ हजारको मतान्तरले हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । बालेनले नेपालको ४० औं प्रधानमन्त्रीको रुपमा शुक्रबार इमान्दारी पूर्वक आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नका लागि शपथ ग्रहण गरेका हुन् । ३५ वर्षको उमेरमा प्रधानमन्त्रीमा नियुक्त भएका बालेन सम्भवता नेपालको कान्छो प्रधानमन्त्रीको रुपमा नियुक्त भएका हुन् ।
गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनको कारणले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सुशीला कार्कीको नेतृत्वमा आन्तरिम सरकार गठन भएको थियो । जस कारण २०८४ सालमा हुनुपर्ने प्रतिनिधि सभा सदस्यको निर्वाचन गत फागुन २१ गते भएको थियो ।
झापा क्षेत्र नम्बर–५ बाट उम्मेद्वारीको घोषणा गरेसँगै गत माघ ४ गते काठमाडौं महानगरपालिकाको मयर पदबाट बालेनले राजीनामा दिएका थिए । २०७९ सालमा भएको निर्वाचनमा काठमाडौंको मयर पदबाट उम्मेद्वारी बनेका बालेनले स्वतन्त्र उम्मेद्वारी दिएर विजयी भएका थिए ।
प्रधानमन्त्री शाहले स्वर्णिम वाग्लेलाई अर्थमन्त्रीमा,शिशिर खनाललाई परराष्ट्रमन्त्रीमा, जेनजी कमाण्डर सुदन गुरुङलाई गृहमन्त्रीमा, प्रतिभा रावललाई प्रशासन मन्त्रीमा, गणेश पौडेललाई पर्यटन मन्त्रीमा,अमरेश सिंहलाई उद्योग मन्त्रीमा सुनिल लम्साललाई भौतिक पूर्वाधार मन्त्रीमा र गीता चौधरीलाई कृषि मन्त्रीमा नियुक्त भएका छन् । उनीहरुलाई पनि शपथ ग्रहण गराइएको छ ।
























प्रतिक्रिया दिनुहोस्