धनुषाको विदेह नगरपालिकास्थित तिनकौरिया बजारमा विहानैदेखि प्रर्दशनमा उत्रेका स्थानीय व्यापारीहरुले नगर प्रमुखसँग सहमति गरी प्रर्दशन बन्द गरेका छन्।

तिनकौरिया बजारमा स्थानीय सन्तोष मण्डलले सन्चालन गर्दै आएको शन्ता पान पसलमा शनिवार राति आगलगी भएको थियो। विहानैदेखि स्थानीयहरुले नगरपालिकाले सीसीटिभी क्यामरा जडान नगरेको र ५० मिटर दुरीमा रहेको प्रहरी चौकीले रातीमा प्रहरी नखटाएको भन्दै बाटो अवरुद्ध पारेर विरोध प्रर्दशन गरिरहेको थियो।

व्यापारीले अवरुद्ध पारेको सडक प्रहरीले खुलाउने क्रममा व्यापारी र प्रहरीबीच झडप भएको थियो। सडक खुलाउन प्रहरीले ८ राउण्ड अश्रु ग्यास प्रहार पनि गरेको थियो।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रका अनुसार विहानैदेखि प्रदर्शनमा उत्रेका व्यापारी र विदेह नगरपालिका नगर प्रमुख वेचन दासबीच सहमति भएपछि प्रर्दशन रोकिएको हाे। नगरपालिकाले सीसीटिभी क्यामरा जडानको लागि पहल गर्ने र आगलगी विषयमा अनुसन्धान गरी दोषीमाथि कारबाही गर्ने भनेर सहमति भएको छ।

पान पसलसँगै जोडिएको किराना पसलमा रहेको लत्ताकपडा समेत जलेर नष्ट भएको छ भने दुइवटै पसलमा रहेको पुरै सामग्री जलेर नष्ट भइ दश लाख बराबरको क्षति भएको पसल सन्चालक मण्डलले बताए।

यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो