माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विभिन्न समयमा देशलाई दुर्घटना हुनबाट बचाएको दाबी गरेका छन्। सात वर्षपछि सोमबार हेलिकप्टरबाट रोल्पा पुगेका उनले संविधानमाथि संकट आउन थालेपछि गठबन्धन निर्माण गरेको बताउँदै एमसीसीका समयमा पनि १२ बुँदे गरेर देशलाई दुर्घटना हुनबाट बचाएको दाबी गरे।
रोल्पा सदरमुकाममा आयोजित सभालाई संबोधन गर्दै उनले चुनावमा गठबन्धनलाई प्राथामिकता दिएको भए पनि एक्लै पनि निर्वाचनमा जान सकिने बताए। सभामा बोल्दै गर्दा आक्रामक शैलिमा प्रश्तुत भएका प्रचण्डले भने, ‘चुनाव अरुका लागि चुनाव हो तर हाम्रो लागि लडाईँ हो। हामीले जिते संविधानले जित्छ।’
पूर्व प्रधानमन्त्री समेत रहेका उनले भने, ‘हामी जाई लाग्दैनाँै तर आईलागे इँटको जवाफ पत्थरले दिनु पर्छ।’ यति बोल्दै गर्दा सहभागीकातर्फबाट ताली खाएका उनले भने, ‘कसैले षणयन्त्र गरे नछोड्नु। तयारी गर्नु।’
विहान पत्रकार सम्मेलनमा आफ्नै खुट्टामा चुनावमा जान सकिने दाबी गरेका उनले दिउँसोका दुई अलग कार्यक्रममा भने गठबन्धनलाई नै जोड दिईने बताएका थिए। एमालेसंगको एकता प्रसंग जोड्दै प्रचण्डले भने, ‘एउटा सपना देखेर नेकपा बनाएका हाैं। धोएर सफा गरेर नायक बनाउँला भनेको ओली खलनायक बने।’
द्वन्द्वका समयमा अफ्ठ्यारो पर्दा रोल्पा आउने गरेको बताउँदै शान्ति संझौता गर्न रोल्पाबाटै गएको स्मरण गरेका प्रचण्डले रोल्पाको बिकासमा सहयोग गर्ने प्रतिबद्धता गरेका थिए। प्रचण्डले सोमवार रोल्पा नगरपालिकाले निर्माण गरेको ‘जनयुद्ध स्मृति भ्यु टावर’ समेत उद्घाटन गरेका थिए।
यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो




















प्रतिक्रिया दिनुहोस्