रौतहटका अधिकांश पालिकामा द्विपक्षीय र त्रिपक्षीय भीडन्त देखिएको छ। विभिन्न पार्टीले मनोनयन दर्ता गराएको तथा स्वतन्त्र उम्मेदवारहरु पनि धेरै भए पनि जिल्लाका अधिकांश पालिकामा द्विपक्षीय र त्रिपक्षीय भीडन्त देखिएको हो।

जिल्लाको चन्द्रपुर, गरुडा, वृन्दावन, गुजरा, गौर, बौद्धिमाई र राजदेवी नगरपालिकामा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको अग्रता रहेको छ। सदरमुकाम गौर नगरपालिकामा नेकपा एसका शम्भु साह, नेकाका मोहन यादव र लोसपाका अजय गुप्ताबीच त्रिपक्षीय भीडन्त रहेको छ। राजदेवी नगरपालिकामा नेकपा एकीकृत समाजवादीका  भिखारी यादव, नेकाका धीरेन्द्र सिंह र नेकपा एमालेकी अंशु सिंहबीच भीडन्त रहेको छ।

रौतहटको गरुडा नगरपालिकामा नेकपा एएकीकृत समाजवादीका बृजकिशोर यादव, नेपाली कांग्रेसका सुनीलकुमार यादव, नेकपा एमालेका कन्थमनिप्रसाद कलवार र नेकपा माओवादी केन्द्रका विपिनकुमार जयसवालबीच प्रतिस्पर्धा हुने देखिएको छ।

बौधिमाई नगरपालिकामा नेकपा एकीकृत समाजवादीका प्रदीप यादव, नेकपा एमालेका त्रिभुवन साह र जसपाका राजीवरन्जनबीच प्रतिस्पर्धा देखिएको छ भने वृन्दावन नगरपालिकामा नेकपा एसका विनोद पटेल, नेकपा माकेका रामप्रसाद पटेल र नेकाका रामसिनेही यादवबीच प्रतिस्पर्धा रहेको देखिएको छ।

चन्द्रपुरमा नेकपा एकीकृत समाजवादीका बाबुराम दाहाल र कांग्रेसका सन्तोष काफ्लेबीच प्रतिस्पर्धा देखिएको छ। चन्द्रपुरमा पूर्वमेयर रामचन्द्र चौधरी स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनावी प्रतिस्पर्धामा रहेका छन्।

यसै गरी गढीमाई नगरपालिकामा कांग्रेस श्यामप्रसाद यादव र जसपाका अबुल कलाम आजादबिच प्रतिस्पर्धा देखिएको छ भने ईशनाथ नगरपालिकामा जसपाकी कौशल्यादेवी, नेकपा एमालेका सन्तोषकुमार मेहता र नेकाकी अन्जु झाबिच प्रतिस्पर्धा देखिएको छ। कटहरिया नगरपालिकामा नेकपा एमालेका सियाराम कुशवाहा, नेकपा माकेका नसरुदीन अन्सारी र नेकाका अजयप्रकाश जयसवालबिच प्रतिस्पर्धा देखिएको छ।

यसै गरी फतुवा विजयपुरमा नेकपा एमालेका विजय यादव निर्बिज र नेकाका गोपाल यादवबिच प्रतिस्पर्धा देखिएको छ भने मौलापुर नगरपालिकामा नेकपा एमालेकी रिनादेवी साह र नेकपा माकेका रामप्रवेश यादवबीच प्रतिस्पर्धा रहेको देखिएको छ।

रौतहटकै राजपुर नगरपालिकामा नेकाका डा। राजिक आलम र जसपाका जैद राजाबिच प्रतिस्पर्धा हुने देखिएको छ भने परोहा नगरपालिकामा नेकाका शेख वकिल र नेकपा माकेका अरुण जयसवालबिच प्रतिस्पर्धा हुने सम्भावना रहेको छ।

यसै गरी गुजरा नगरपालिकामा जसपाका सन्तलाल चौधरी, नेकाका शेख महिबुल र नेकपा एमालेका शेख एकरामुल बिच प्रतिस्पर्धा देखिएको छ। यसै गरी देवाही गोनाही नगरपालिकामा जसपाकी जसपा र नेकपा एमालेबीच प्रतिस्पर्धा देखिएको छ भने माधव नारायण नगरपालिकामा जसपाका वीरेन्द्र यादव, लोसपाका लीला साह र नेकपा एमालेकी सिमलकुमारी साहबीच प्रतिस्पर्धा देखिएको छ। जिल्लाको दुर्गा भगवती गाउँपालिकामा नेकाका अरुण साह र नेकपा माकेका शम्भु सिंहबीच प्रतिस्पर्धा देखिएको छ।

चुनाव आउन अझै केही दिन बाँकी रहेकोले मुख्य प्रतिस्पर्धीमा परिवर्तन पनि हुन सक्ने सम्भावना रहेको छ। मतदाताहरु खुलेर अगाडि आउन थालेको देखिएको छैन तर पनि जिल्लाको अधिकांश पालिकामा द्विपक्षीय र त्रिपक्षीय भीडन्त हुने सम्भावना रहेको देखिएको छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो