मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई पर्यटकीय स्थल घोषणा गरेको छ।

शुक्रबार ठोरीमा बसेको मन्त्रिपरिषद्को बैठकले ठोरी गाउँपालिकालाई पर्यटकीय स्थल घोषणा गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ठोरी क्षेत्रलाई प्रदेशकै पहिलो पर्यटकीय गाउँपालिकाको रुपमा घोषणा गरिएको बताए। उनले यस क्षेत्रलाई पर्यटकीय हिसावले महत्वपूर्ण बनाउन प्रदेश सरकारको तर्फबाट १० करोड रुपैयाँको बजेट विनियोजन गरिएको पनि जानकारी दिए।

मुख्यमन्त्री राउतले प्रदेशले आगामी दिनमा क्रमशः पर्यटकीय गन्तव्यका रुपमा अन्य आकर्षित स्थानहरुलाई प्राथमिकतामा राखेको पनि बताए। तराई मधेसको ‘मिनी उपत्यका’को नामले परिचित ठोरीको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले ठोरीलाई मधेस प्रदेश सरकारले पर्यटकीयस्थल घोषणा गरेको हो। भारतसँग सीमानाका जोडिएको कारण पनि यहाँ दिनहुँ हजारौँको संख्यामा भारतीय पर्यटकहरु आउने गर्छन्। जिल्लाको उत्तरी भेगमा रहेको ठोरीलाई चितवनबाट भारत जाने मार्गका रूपसमेतमा प्रयोग गरिन्छ। नयाँ वर्ष वा कुनै विशेष दिन जिल्लाका विभिन्न स्थानबाट पर्यटक यहाँ पुग्ने गर्दछन्।

पटेर्वासुगौली गाउँपालिकामा पर्ने बाबा दूधेश्वरनाथ महादेव भाठाधाम धार्मिक पर्यटकीय क्षेत्र भएकोले सो क्षेत्रमा वैशाख, साउन र माघ महिनामा लाग्ने मेलामा स्वदेश तथा छिमेकी देश भारतबाट लाखौँ भक्तजन आउने गर्दछन्। नेपालका चितवन, बारा, पर्सा, रौतहटलगायतका जिल्लाका बासिन्दा पनि ठोरीमा घुम्न र वनभोज खान पुग्ने गरेका छन्। हरियाली पहाडले घेरिएको ठोरी तराईको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा परिचित छ।

ठोरीमा राईधारा, सेतो पहाड, गोले डाँडा, रातो पहाड, सिनेही पहाड, रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सीता गुफा, सिकारीबास लगायत ५० भन्दा बढी पर्यटकीय स्थलहरु छन्।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो