नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिगमनबाट देशलाई जोगाउनका निम्ती सत्तारुढ गठबन्धन अपरिहार्य रहेको बताएका छन्।

फलतः आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई मतदान गर्न उनले अपिल गरे। आईतबार दाङको घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले वर्तमान सत्ता गठबन्धन राष्ट्रिय आवश्यक्ताका लागि बनेको भन्दै यसलाई वर्षौँसम्म जोगाएर लैजानु पर्ने बताए। उनले राष्ट्रिय आवश्यक्ताका निम्ती निर्माण भएको गठबन्धनलाई वर्षौँसम्म लैजान आसन्न निर्वाचनमा जिताउनै पर्नेमा जोड दिए।

‘देशलाई बचाउन गठबन्धनलाई जिताउनै पर्छ,’ देउवाले भने ‘गठबन्धन राष्ट्रिय आवश्यक्ता हो, यसलाई वर्षौँसम्म जोगाएर लैजानु पर्छ।’ साथै उनले गठबन्धन प्रति शंका उपशंका नगर्न कार्यकर्ताहरुलाई आग्रह समेत गरे। चुनावमा गठबन्धनले नजिते संविधान, तथा संघीयता बिरोधीहरुको हालीमुहाली हुने भन्दै देउवाले मुलुकलाई यो दिशामा जान नदिन प्रतिगमनकारीहरुलाई निर्वाचन मार्फत छेकवार लगाउनै पर्ने बताए।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली प्रजातन्त्र र संघीयताका पक्षधर नरहेको बताए। ‘केपी ओली प्रजातन्त्र र संघीयताबादी नेता हैनन्,’ देउवाले भने ‘उनको राष्ट्रघाती कदम रोक्नका लागि आगामी निर्वाचनबाट उनलाई रोक्नु पर्छ।’ दुई पटक संसद भंग गरेर देशलाई बर्बाद पार्न खोजेका ओलीको शक्तिलाई मत्थर बनाउँदै गठबन्धन जन्मीएको बताएका देउवाले पुनः देशलाई यही बाटोमा जान नदिन आम नागरिक सचेत बन्नु पर्नेमा जोड दिए।

यसैगरि चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि सत्तारुढ गठबन्धनलाई संविधान,लोकतन्त्रको रक्षाकवचका रुपमा अथ्र्याए। यसर्थ समग्र देशको सुरक्षा कवच बनेको गठबन्धनलाई देशको रक्षाका निम्ती मतदान गर्नुपर्नेमा दाहालको जोड थियो।

देशलाई जोगाउनका निम्ती गठबन्धन अपरिहार्य रहेको र आगामी निर्वाचनबाट गठबन्धनको जीतलाई सुनिश्चित गर्नै पर्ने दाहालको भनाई थियो। आगामी निर्वाचनमा दुई गठबन्धनका बीच ‘ब्याटल’ हुने भन्दै दाहालले यो ब्याटलमा अग्रगमनको पक्षधर गठबन्धन र प्रतिगमनको पक्षधर गठबन्धन सहभागी हुने बताए। ‘अहिलेको चुनावमा एउटा अग्रगमनको पक्षधर अर्थात हाम्रो गठबन्धन र अर्को केपी ओली जिहरुको प्रतिगमन पक्षधर गठबन्धनका बीच ब्याटल, लडाईँ हुँदैछ,’ दाहालले भने ‘हामी सचेत नागरिकहरुले प्रतिगमनको पक्षधर, देशका लागि घातक गठबन्धनलाई परास्त गर्नै पर्नेछ।’ प्रतिगमनका पक्षधर गठबन्धनले देशलाई पछि धकेल्ने षडयन्त्रमा रहेको भन्दै दाहालले उनीहरुको यो दुष्प्रयासलाई आगामी चुनावबाट परास्त गर्नु पर्नेमा जोड दिए।

उनले ओलीले निर्माण गरेको एमाले सहितको गठबन्धनलाई राजाबादी तथा देश टुक्र्याउन खोज्ने गलत प्रबृत्तिको गठजोड भनेका थिए। यसैगरि दाहालले पनि वर्तमान गठबन्धनलाई वर्षौँसम्म लैजानु पर्ने राष्ट्रिय आवश्यकता रहेको बताएका थिए।

यसैगरि दाहालले सत्तारुढ गठबन्धनभित्र हार्दिकता बढ्दै गएकोमा खुशी ब्यक्त गरे। अझ घोराही उपमहानगरमा भएको गठबन्धन देशभर भएका गठबन्धनका लागि गतिलो पाठ बनेको भन्दै दाहालले भने ‘यहाँ गठबन्धन भित्र अझ माओवादी र कांग्रेस बीच हार्दिकता बलियो भएको रिपोर्ट मैले पाएँ, उहाँको यो हार्दिकता देशभर सिक्नु पर्छ।’

दाहाल र देउवालाई माओवादी प्रवक्ता कृष्ण बहादुर महराले गठबन्धनको अवस्थाका बारेमा जानकारी गराएका थिए। प्रधानमन्त्री देउवाले पनि घोराही उपमहानगरमा गठबन्धन बलियो भएको रिपोर्ट आफूले पाएको भन्दै यसलाई थप मजबुत बनाएर अगाडी बढ्नु पर्ने बताएका थिए। ‘माओवादीका नेता कृष्णबहादुर महरा जिले यहाँ कांग्रेस र माओवादीका साथीहरुबीच बलियो तालमेल भएको भनेर जानकारी गराउनुभयो,’ देउवाले भने ‘यस्तै बलियो गठबन्धन सधैँभरी कायम भएर जानु पर्छ।’ यो उपमहानगरमा गठबन्धनका तर्फबाट मेयरमा माओवादी केन्द्रबाट हेमराज शर्मा र कांग्रेसबाट उपमेयरमा कांग्रेसका भुपबहादुर डाँगी उम्मेदवार बनेका छन्।

यसअघि देउवा र दाहालले तुलसीपुरमा आयोजित चुनावी सभालाई पनि सम्बोधन गरेका थिए। उक्त चुनावी सभालाई पनि सम्बोधन गर्दै देउवा र दाहालले गठबन्धनको आवश्यक्ता अथ्र्याउँदै राष्ट्र हितका निम्ती गठबन्धनको जीत अपरिहार्य रहेको बताएका थिए। तुलसीपुर उपमहानगरमा गठबन्धनका तर्फबाट कांग्रेसका गेहेन्द्र गिरी मेयरमा र नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना उपमेयरमा भिडेका छन्।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो