पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर पुनःनिर्माण अलपत्र अवस्थामा रहेको छ । विसं २०७२ को गोरखा भूकम्पले क्षतिग्रस्त बनाएको सो मन्दिरका लागि आवश्यक सामग्रीको समयमै जोहो गर्न नसक्दा अझै अन्योलको अवस्थामा रहेको हो ।
मन्दिर पुनःनिर्माणमा १०० बढी प्रकारका नयाँ इँटा चाहिने हुँदा बनाएर ल्याइएका तीनदेखि चारथरिका इँटासमेत नमिलेर पुनः बनाउनदिँदा मन्दिरको काम अघि बढ्न नसकेको मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “इँटाको आकार र प्रकार नै पुरानो शैलीअनुरुप नमिलेपछि काम अघि बढाउन ढिलाइ भइरहेको छ ।” सो मन्दिर बाहिरबाट हेर्दा त्यहाँ रहेका चार बुर्जा मात्र क्षति भएको देखिएता पनि समय ढल्किँदै जाँदा भित्रभित्रै झन् धेरै जीर्ण हुँदै गइरहेको प्रधानले बताउनुभयो । “यो मन्दिर अब जीर्णेद्धारमात्रै गरेर हुँदैन, पुनःनिर्माण नै गर्नुपर्ने भएको छ”, उहाँले थप्नुभयो ।
सो मन्दिर मर्मत सुधार र संरक्षण गर्न यसअघिको कार्यकालमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले रु २० लाख दिनुभएको सङ्घका सचिव रवि दर्शनधारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला मन्दिर जीर्णेद्धार गरेमात्रै पुग्छ भनेर यति रकम लियौँ । सामग्रीको भाउ र कामदारको ज्याला अनि मन्दिरको अवस्था हेर्दा यति रकमले कति पनि नपुग्ने भयो ।” सो मन्दिरमा प्रयोग गरिने विभिन्न आकार र प्रकारका इँटा बनाउन भने आफूहरूले दक्षिण बाराहीब्रिक्स फयाक्ट्रीलाई जिम्मा दिइरहेको दर्शनधारीले जानकारी गराउनुभयो ।
सो मन्दिर निर्माणमा प्राविधिक सहयोग भने काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट ९केभिपिटी०को रहने इञ्जीनियर प्रणाम होराले बताउनुभयो । उहाँले भन्नुभयो, “शिखरशैलीमा रहेको यस मन्दिरको सबै बुर्जामुनिको काठ मक्किनुका साथै धेरै इँटा खिएर फ्रुस्रिएकाले सबैजसो फेर्नुपर्नेछ ।” आवश्यक सामग्री तयार नभएसम्म मन्दिरलाई जीर्ण अवस्थामै राख्न बाध्य भइरहेको होराले दुःखेसो गर्नुभयो । सो मन्दिर पुनःनिर्माणका लागि गत वर्षको पुस २९ गते क्षमापूजा गरिएको थियो ।
उक्त मन्दिर भत्काएपछि त्यहाँका सबै सामग्री आफूहरुले सुरक्षित पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयमा राख्ने जानकारी गराइएको छ । मन्दिर निर्माण थालिने सोच बनाएसँगै आवश्यक नयाँ इँटा बनाउनका लागि नयाँ साँचोसमेत बनाउन निकै समय खर्च भएको प्रधानले जानकारी गराउनुभयो । “गत माघ महिनामा नै मन्दिरको एक–एक इँटाको नमूना झिकेर नयाँ बनाउन दिएका थियाँै । मन्दिरमा १०८ थरिका इँटा प्रयोग भएको हुँदा लगभग सबै थरिका नै बनाउनुपर्नेछ”, उहाँले थप्नुभयो ।
नरसिंह मन्दिरको महिमा हरेक वर्ष कात्तिक शुक्लपक्ष त्रयोदशीका दिन पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा मञ्चन गरी प्रदर्शनसमेत गर्ने गरिन्छ । विश्वकै लामो नाट्य महोत्सवका रूपमा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो ‘नृसिंह’ भगवान्मा आधारित नृत्य अघि बढाएका हुन् ।
भगवान् विष्णुले देश र जनताको कल्याण अनि धर्म रक्षाका लागि मत्स्य हुँदै बराहपछि नृसिंह अवतार धारण गरी अत्याचारी दानवको बध गर्ने कुरा विष्णुपुराणमा आधारित छ । सो मन्दिरमा प्रयोग गरिने इँटा घरायसी प्रयोजन गर्नेभन्दा बिल्कुलै फरक हुने भएकाले बनाउन पनि लामो समय लाग्ने होराले जानकारी गराउनुभयो ।
–––
रासस
फाइल तस्विर























प्रतिक्रिया दिनुहोस्