भक्तपुरको चारवटा नगरपालिकामा मेयरका लागि कुल ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार दर्ता गर्ने पहिलो दिन भक्तपुर जिल्लामा ११ जनाले मेयर पदका लागि उम्मेदवारी दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको नाम दर्ता गर्ने पहिलो दिनमा जिल्लाका ४ वटा नगरपालिकाहरूमा ११ जना प्रमुखका आकांक्षीहरूले सम्बन्धित नगरपालिकाको निर्वाचन कार्यालयमा नाम दर्ता गरेका हुन्। यसरी नाम दर्ता गर्नेहरूमा भक्तपुर नगरपालिकाको निर्वाचन कार्यालयमा तीनजना प्रमुख, १ जना उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् भने ८ जनाले वडाध्यक्ष पढ्का लागि नाम दर्ता गराएका हुन्।
मध्यपुर थिमि नगरपालिकाको निर्वाचन कार्यालयमा ४ प्रमुख १ उपप्रमुख १ वडाध्यक्ष र २ वडा सदस्यले नाम दर्ता गराएका छन्। यसैगरी चाँगुनारायण नगरपालिकामा २ प्रमुख १ उपप्रमुख २ वडाध्यक्ष र सूर्यविनायक नगरपालिकामा २ प्रमुख २ वडाध्यक्षले नाम दर्ता गराएको भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्कोटाले जनाए। उनका अनुसार जिल्लामा ६ राष्ट्रिय दल र अन्य २८ दल सहित ३४ दलहरू आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा दर्तामा रहेका छन्।
पहिलो दिनमा उम्मेदवारी दर्ता गर्नेको संख्या कम भएसँगै दोस्रो दिन हुल हुने आंकलन गरिएको छ। आचारसहिता पूरा गरी आउनेलाई उम्मेदवार दर्ताका लागि भोलि सोमबार बिहानदेखि नै कर्मचारी परिचालन गरिएको उनले बताए। हुल हुन नदिन कार्यालय समय अगाडिबाटै दर्ता प्रक्रिया थाल्न पनि तयार भएको उनले बताए। उनले यस वर्षको स्थानीय तहको निर्वाचनलाई कम खर्चमा शान्तिपूर्ण सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण कार्यान्वयनमा जोड दिएको बताए।
यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो














प्रतिक्रिया दिनुहोस्