हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा लागूऔषध विरुद्धको जनचेतनामूलक तथा संस्थागत कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा तथा सिआन पुर्नस्थापना केन्द्रको व्यवस्थानमा जारी ३ महिने लागूऔषध विरुद्धको अभियान अन्तर्गत आइतबार बागमती गाउँपालिकामा लागूऔषध विरुद्धको विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । लागूऔषधको विरुद्धको अभियान अन्तर्गत गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यमा तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको ओमबहादुर दर्जीको विशेष आतिथ्यमा पालिकास्तरीय बैठक बसेको थियो ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत दर्जीले स्थानीय सरकारलाई लागुऔषध नियन्त्रण मार्गदर्शन २०७६ अनुसार समिति तत्काल गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले गाउँपालिकाका अध्यक्षले आवश्यक बजेट विनियोजन, नीतिगत व्यवस्था, कार्यक्रम निर्माण तथा समन्वयात्मक भूमिकाबाट अभियानलाई थप सशक्त बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै,गाउँपालिको वडा नम्बर– ५ स्थित श्री देवकी माध्यमिक विद्यालयमा वडाध्यक्ष विजय घलानको प्रमुख आतिथ्यमा विद्यालय सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा विद्यालयका शिक्षकहरू, रिकभरिङ महासंघका प्रतिनिधिहरू तथा सिआन पुनर्स्थापना केन्द्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कक्षा ७, ८ र ९ का करिब ९० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा लागुऔषध दुव्यसनको असर, रोकथाम तथा जीवन सीपसम्बन्धी सचेतना प्रदान गरिएको थियो ।
त्यसैगरी अभियानलाई थप प्रभावकारी बनाउन गाउँपालिका परिसर अगाडि मुख्य चोकमा सन्देशमूलक होर्डिङ बोर्ड स्थापना गरिएको छ । विद्यालय बाहिर धूम्रपान निषेधित क्षेत्र सम्बन्धी बोर्ड राखिनुका साथै पालिकाका मुख्य बजार क्षेत्रहरूमा सन्देशमूलक पर्चा वितरण कार्यक्रम समेत सञ्चालन गरिएको छ ।
समग्रमा, समुदाय, विद्यालय तथा स्थानीय सरकारबीचको सहकार्यमा सञ्चालन भइरहेको यो अभियानले बागमती गाउँपालिकामा लागुऔषध विरुद्ध सशक्त जनआन्दोलनको आधार निर्माण गर्ने विश्वास लिइएको छ ।

















प्रतिक्रिया दिनुहोस्