म्यान अफ द म्याचलाई पुरस्कार प्रदान गरिँदै ।

हेटौंडा । हेटौंडा–५,स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी पाँचौं संस्करणको मेयरकप फुटबल प्रतियोगितामा वडा नम्बर–७ र वडा नम्बर–८ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो खेलमा वडा नम्बर–७ ले वडा नम्बर–२ लाई १–० गोलले पराजित गरेको छ । वडा–७ को जीतमा कुशल अधिकारीले खेलको ५० मिनेटमा गोल गरेका थिए । उक्त गोल निर्णायक बन्न पुग्यो । निर्णायक गोलकर्ता अधिकारीनै म्यान अफ द म्याच घोषित भएका छन् ।

यस्तै, शुक्रबार भएकै दोस्रो खेलमा वडा–९ लाई वडा–८ ले ४–० गोल अन्तरले पराजित गरेको छ । वडा–८ को तर्फबाट विजय विश्वकर्माले खेलको १ मिनेटमा गोल गर्दै सुरुवात अग्रता दिलाएका थिए । दोस्रो हाफको १२ औं मिनेटमा गोल गर्दै दिपेश थोकरले अग्रतालाई कायमै राखेका थिए । ५२ औं मिनेटको खेल चलिरहँदा दिपेश थोकरले थप १ गोल गर्दै वडा–९ विरुद्ध दवाब सिर्जना गरेका थिए । ३–० गोलको दवाबले पछि परेको वडा–९ विरुद्ध विकाश देउलाले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सोहन थिङ घोषित भएका छन् । प्रतियोगिता अन्तर्गत भोलि शनिबार २ खेलहरु हुने आयोजक नगर खेलकुद विकास समितिका सदस्य विजय गौतमले बताए । सदस्य गौतमका अनुसार पहिलो खेलमा हेटौंडा–१ र हेटौंडा–६ बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा हेटौंडा–१७ र हेटौंडा–१८ बीच प्रतिस्पर्धा हुनेछ ।