बागमती प्रदेशको राजधानी हेटौंडामा बुधाबार ११ गतेदेखि जारी ‘१० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ मा मेला भर्न पुगेका दर्शकहरु निकै उत्साहित छन् ।

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुतीमा दर्शकहरु रमाइरहेका हुन् ।
यसैविच आज शुक्रबार चर्चित व्याण्ड कर्मा व्याण्डको प्रस्तुतीमा रम्ने दर्शकहरु भरिभराउ थियो ।

गायन क्षेत्रमा ब्राण्ड बनेको कर्मा कर्मा व्याण्डले हुक्का मेरो डल्ले डल्ले भनेपछि त महोत्सव अवलोकन गर्न आएका दर्शकहरु गीतसंगीतमा मज्जाले झुमेका थिए ।

सांझ परेपछि कर्मा व्याण्डले आफ्नो प्रस्तुती सुरु गर्नसाथ चिसो मौसम गितसंगीतले तात्तिएको थियो भने दर्शकहरुले आफ्नो मोबाइलको टर्च बालेर गाउँदै नाच्न सुरु गरेका थिए ।

व्याण्डले हुक्का मेरो…, कोहौ तिमी…, कहाँ होला घरबार…, मार्यौ ज्यूदैं मार्यौ…, यानीमाया यानीमाया…, कारबाही छाता ओढेर…, मनको घण्टी लगायत थुप्रै गीतहरु प्रस्तुत गरेका थिए ।
त्यस्तै गरी महोत्सवमा गायक मानसराज र गायिका ऋतु कंडेलले पनि सांगीतिक प्रस्तुती दिएकी थिइन् भने भोली शनिबार गायक प्रताप दास, निशान भट्टराई र बालगायक जेनिश उप्रेतीले आफ्नो प्रस्तुती दिने छन् ।

महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । हेटौंडा आइडलको आफ्ना मनपर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्थकट्टीबाट भोट हाल्न सकिने व्यवस्था गरिएको आयोजक जनाएको छ ।
स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भइरहेको छ ।

महोत्सवमा आयोजना गरिएको हेटौंडा आइडल गायन प्रतियोगितामा भोटिङ राउण्ड पनि सुरु भएको छ ।
टप टेनमा पर्ने प्रतिस्पर्धीहरुलाई टिकटको अर्धकट्टी र एसएमएसबाट भोटिङ गर्न सकिने आइडल व्यवस्थापन समिति संयोजक अंकिता सुमार्गीले बताइन् ।

हेटौंडा आइडलको सर्टफर्म एच.आई. स्पेस प्रतिस्पर्धी टाइप गरि ३१००३ मा एसएमएस गरि मनपरेको प्रतिस्पर्धीलाई भोट गर्न सकिने छ ।

………………………..

मकवानपुर उद्योग वाणिज्य संघले पहिलो पटक २०४२ सालमा औद्योगिक व्यापार मेला गरेको थियो।त्यसैगरि संघले २०४३, २०५३, २०५५, २०५६ सालमा मेला गरेको थियो भने २०६६ सालमा मध्यमाञ्चल औद्योगिक व्यापार मेला गरेको हो।
२०६८, २०७०, २०७२ र २०७५ मा राष्ट्रिय औद्योगिक व्यापार मेला गरेको हो।

महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको र कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल लगाएत विभिन्न ३ सय ३७ वटा स्टलहरु रहेका छन् ।

मेलामा कृषि, घरेलु हस्तकला, महिला उद्यमीका उत्पादन, होटल, आइटी, शैक्षिक संघसंस्था, उद्योगका उत्पादनहरु लगायतकाको स्टलहरु छन् ।

११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा दैनिकी स्थनाीय तथा राष्ट्रिय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु दिइरहेका छन् ।