सर्लाहीमा नेपाली काँग्रेसले प्रतिनिधि सभा सदस्यमा एक सिट पनि हासिल गर्न सकेन। गत वैशाखमा सम्पन्न स्थानीय तहमा सर्लाही जिल्लाभर झन्डै एक छत्र जितेको काँग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा ज्यादै नराम्रो पराजय भोग्नु पर्यो।

प्रदेश सरकारमा सर्लाहीको बलियो पकड भएको र सर्लाहीका २० स्थानीय तहमध्ये नेपाली काँग्रेसले १२ स्थानमा पूर्ण बहुमतसहित जितेको भए तापनि प्रतिनिधि सभामा नेपाली काँग्रेस आफ्नै कारणले मरिचजस्तै चाउरिएको नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले बताएका छन्।

२०७४ को निर्वाचनमा सर्लाहीमा नेपाली काँग्रेसको साख जोगाएका साँसद डा. सिंह सर्लाहीमा काँग्रेस समाप्त हुनुका पछाडि जिल्लाका नेताहरुले गरेको भ्रष्टाचार तथा गलत प्रवृत्तिका मानिसले जिल्लाको नेतृत्व सम्हालेको आरोप लगाएका छन्।

यसै गरी नेपाली काँग्रेसको नीति तथा पार्टीप्रति बफादार नेताहरु डा. सिंह र रामचन्द्र चौधरीप्रति नेतृत्वले बारम्बार असन्तुष्टि जनाइरह्यो। २०७० मा डा. सिंह र चौधरी सर्लाहीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। विस्तारै बफादार नेताहरु पाखा लाग्दै गएपछि सर्लाहीमा काँगे्रसप्रति सर्वसाधारणको आक्रोश बढेको बुद्धिजीवीहरुको भनाइ छ।

मधेस मामिलाका जानकार तथा वरिष्ठ पत्रकार चन्द्रकिशोरले सर्लाहीमा मधेस आन्दोलनको प्रभाव रहेको तथा नेपाली काँग्रेसको आन्तरिक कलह, टिकट वितरणमा असन्तुलन र गठबन्धनका कारणले नेकाले एउटा मात्र सिट पाएकाले काँग्रेस क्लिन स्पिप भएको विश्लेषण गर्दछन्।

तराई मधेसलाई नेपाली काँग्रेसको परम्परागत गढ मानिँदै आएको तराई मधेसको एक प्रमुख जिल्ला सर्लाहीमा नेपाली काँग्रेसले पकड गुमाइरहेको छ। स्थानीय चर्चित नेताहरुले स्थानीय तहको चुनाव जितेपछि प्रतिनिधि सभाको चुनावमा टिकट वितरणमा अत्यधिक राजनीतिकरण भएको मन पराएका छैनन्। स्थानीय तहका जनप्रतिनिधिहरुको सहयोगले प्रदेश सभामा नेपाली काँग्रेसले तीन जनालाई पठाउन सफल भएको छ।