जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले हासिल गरेको छ ।
आज सोमबार सम्पन्न अन्तिम खेलमा विजयी युथ क्लब हेटौंडालाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि पाएको हो ।
त्यसतैगरि घरेलु समुह युथ क्लब उपविजेतामा चित्त बुझाउनु परेको छ ।
१२ वटा क्लबले सहभागिता जनाएको प्रतियोगितामा आर्मीले शिल्डसंगै १५ लाख हात पारेको छ भने युथ क्लबले शिल्डसंगै १० लाख रुपैया पाएको छ ।
आर्मीले यसअघि २०७७ सालमा भएको तेस्रो मकवानपुर गोल्डकपमा आर्मीले उपाधि हात पारेको थियो । यसअघि तेस्रो संस्करणमा घरेलु टोलीकै अमिर श्रेष्ठले बुलेट पाएका थिए । हेटौंडाले यस पटक पनि उपविजेता भएको हो ।
खेलमा आर्मीको तर्फबाट भरत खवास र कमल बहादुर थापाले गोल गरेका हुन् भने विजय युथका डोना थापाले पेनाल्टी मार्फत एक गोल फर्काएका थिए ।
खेलको १५औं मिनेटमा कप्तान भरत खवासको गोलबाट आर्मीले सुरुवाती अग्रता लिन सफल भएको थियो ।
विजय युथ टोलीले बराबरी गोल फर्काउन सफल बनेपछि दोस्रो हाफको शुरुमै कमल बहादुर थापाले गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाएका हुन् ।
गोल्डकप प्रतियोगिता २०७९ को सर्वोत्कृष्ट खेलाडी विजय युथ क्लब हेटौंडाका कप्तान तथा गोलरक्षक अशोक बरालले बुलेट बाइक पाएका छन् ।
सर्वोत्कृष्ट खेलाडीलाई हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको करिब ६ लाख रुपैयाँ बराबरको बाइक बरालले हात पारेका हुन् ।
प्रतियोगिताको व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकतर्फको सवै पुरस्कार आर्मीले नै हात पार्यो ।
खेल हेर्नकालागि दर्शकहरुको कोचाकोच रहेको थियो । रोमाञ्चक र प्रतिस्पर्धाका साथ चलेको खेलमा उपविजेता घरेलु समुहबाट विजय युथका क्याप्टेन अशोक बराल उत्कृष्ट खेलाडी घोषित हुँदै बुलेट बाइक पाउन सफल भए ।
विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाएका छन् ।
आर्मीका गोलरक्षक विकेश कुथु, डिफेन्डर विमल पाण्डे, मिडफिल्डर विवेक बस्नेत, फरवार्ड दिनेश हेन्जन र प्रशिक्षक नवीन न्यौपाने घोषित भए । उनीहरुले जनही २५ हजार रुपैयाँ प्राप्त गरे । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पुरस्कार हस्तान्तरण गरेका थिए ।
संस्करणमा एडिभिजन, मोफसल र विदेशी सहित १२ टोलीको सहभागिता रहेको थियो । नेपाल आर्मी क्लब, ए.पी.एफ. क्लब, नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस् क्लब, खुमलटार युथ क्लब, चर्च ब्वाइज क्लब, विदेशी टोली एभिनियर एफ.सी., बागमती युवा क्लब, बि.एफ.सि.चितवन, नवजन जागृती युवा क्लब र घरेलु टोली विजय युथ क्लब सहभागी भएको हो।
२०७९ जेठ १९ गते हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हेटौंडा उपमहानगरका पूर्व मेयर हरि बहादुर महतले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरिएको थियो।























प्रतिक्रिया दिनुहोस्