नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना विद्युत र सडकको विकासका लागि आएको बताउनुभएको छ।
नेपाली काँग्रेस भद्रपुरले आयोजना गरेको प्रशिक्षण कार्यक्रमा बोल्दै कांग्रेस नेता शर्माले झलनाथ खनाल प्रधानमन्त्री भएयताका सबै प्रधानमन्त्रीले अमेरिकी सरकारसँग मागेको सहयोग परियोजना विद्युत र सडकको विकासका लागि आएको दाबी गर्नुभएको हो।
शर्माले संसदबाट अनुमोदन हुने बेलामा संसदभित्र रहेका सबै दलले सहयोग गरेर मात्र अनुमोदित भएको भन्दै निर्वाचनका बेला मत तान्न केही दलले जनतामाथि झुटको खेती गरिरहेको आरोप लगाउनुभयो।
शर्माले आफ्नो आम्दानीले मात्र देशको विकासका लागि ठूला आयोजना सञ्चालन गर्न नसकिने भएकाले वैदेशिक सहयोग लिने क्रममा अमेरिकी आर्थिक सहयोग भित्रिएको उल्लेख गर्नुभयो। मान्छेको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर बिजुली बेच्ने देश भन्ने पहिचान बनाउन एमसीसी स्वीकार गरिएको उहाँको दाबी छ।
शर्माले अमेरिका र चीनको अन्तरद्वन्द्वलाई पक्ष विपक्ष बनाउन चाहनेले एमसीसीमाथि नकारात्मक भ्रम फैलाइरहेको आरोप लगाउनुभयो । काँग्रेसले भोटका लागि भन्दा भविष्यका निम्ति विकास परियोजना छनोट गरेको उहाँको भनाइ छ।
फाष्टट्रयाक र अरूण तेस्रो आयोजना जस्तै एमसीसी पनि वैदेशिक सहयोगमा निर्मित विकासको काम भएको शर्माले उल्लेख गर्नुभयो। वर्तमान सरकारले नागरिकको स्वास्थ्य सुरक्षाका लागि खोप अभियानलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको शर्माको भनाइ छ। कार्यक्रममा नेकपा एमाले, राप्रपालगायत दल त्यागेर दुई दर्जन बढी स्थानीय काँग्रेस प्रवेश गरेका छन्।
यो समाचार गोरखापत्र बाट साभार गरिएके हो






















प्रतिक्रिया दिनुहोस्