निर्वाचनसम्बन्धी समाचार सङ्कलन गर्दा तथ्य र तथ्याङ्कमा आधारित भई आचारसंहिताको पालना गर्दै विश्वसनीयरूपमा काम गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय समाचार समिति ९रासस०मा आज आयोजित निर्वाचनसम्बन्धी समाचार सङ्कलन विषयक एकदिने अभिमुखीकरण कार्यक्रममा पत्रकारिता क्षेत्रका विज्ञले निर्वाचन समाचार सङ्कलनमा विचार एवं आरोप प्रत्यारोपका विषयबाट टाढा रहनुपर्नेमा जोड दिनुभएको हो ।
कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले ‘निर्वाचनसम्बन्धी समाचार सङ्कलन र प्रस्तुति’ विषयक प्रशिक्षण दिनुहुँदै जनचासोका विषयको कोणबाट समाचार तयार पार्न अघि बढ्नुपर्नेमा जोड दिनुभयो । निर्वाचनका बेला सहरबजारमा मासुको भाउ महङ्गिने, रातो र सेतो कपडाको अभाव हुने, प्रेसहरू दलका निर्वाचन सामग्री छाप्न व्यस्त हुनेजस्ता विषयमा केन्द्रित भएर समाचार सङ्कलन गर्न सकिने उहाँले बताउनुभयो ।
राससका महाप्रबन्धक सिद्धराज राईले निर्वाचनसम्बन्धी मानवीय अभिरुचिका समाचार तयार गर्ने जनशक्तिको निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । निर्वाचन समाचार सङ्कलनका लागि स्रोत र साधनसमेत जुटाइने उहाँको प्रतिबद्धता थियो ।
‘निर्वाचनसम्बन्धी समाचार सङ्कलन’ विषयमा प्रशिक्षण दिनुहुँदै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले आचारसंहितामा अडिएरै निर्वाचनसम्बन्धी समाचार सङ्कलन गरिनुपर्ने बताउनुभयो । समाचारदाताले निर्वाचन प्रणाली र प्रक्रिया दुवै बुझेर समाचार सङ्कलन गरेमात्र जनताले त्यो समाचारबाट सही धारणा निर्माण गर्न सक्ने उहाँको भनाइ थियो । कार्यक्रममा राससका नायब महाप्रबन्धकत्रय राजु शाक्य, श्याम रिमाल र सोमनाथ लामिछानेले निर्वाचनसम्बन्धी समाचार निष्पक्ष एवं विश्वसनीय बनाउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा प्रमुख समाचारादाता उत्तम सिलवाल, प्रधानसम्पादक एकराज पाठक, आलेख सम्पादक कृष्ण अधिकारी, प्रदेश एवं जिल्ला समाचारदाता प्रमुख सूर्यचन्द्र बस्नेत, अङ्ग्रेजी शाखाका सम्पादक नारायण घिमिरेलगायतले निर्वाचनसम्बन्धी समाचार तयार पार्दा ध्यान दिनुपर्ने विषयका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा राससका सम्पादक एवं समाचारदातालगायत राससकर्मीको सहभागिता रहेको थियो ।
–––
रासस
फाइल तस्विर























प्रतिक्रिया दिनुहोस्