खजुरा गाउँपालिकाले मानव बेचबिखन विरुद्ध अभियान सञ्चालन गर्ने भएको छ । मानवता विरुद्धको प्रकोप विरुद्ध जनचेतना जगाउन सरोकारवालासँगको समन्वयमा यो कार्य गर्न लागिएको हो । गाउँपालिकाका अध्यक्ष डम्बर विकले गाउँपालिकाले समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बेपत्ता तथा बेचबिखनमा परेका महिला तथा बालबालिकाको खोजी कार्यलाई तिव्रता दिने, उद्धार गरिएका बालबालिकालाई आवासीय विद्यालय बनाउने वातावरण बनाउने तयारी गरेको बताए । । गाउँपालिकाले मानव बेचबिखनबाट जोखिममा परेका र पीडित तथा पीडित परिवारलाई पहिचान गरी रोजगारी उपलब्ध गराउनेछ । खजुराको मानव बेचबिखन नियन्त्रण समितिले खजुरा मानव बेचबिखनको उच्च जोखिममा रहेको जनाएको छ । गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले अभियानले मानव बेचबिखनको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताइन् । माइती नेपाल नेपालगन्जको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा बाँके जिल्ला मानव बेचबिखनको उच्च जोखिममा रहेको जिल्ला हो । संस्थाका अनुसार गत एक वर्षमा जिल्लामा बेपत्ता महिलाको खोजीका लागि आएका १३१ निवेदनमध्ये ४९ फेला परेका छन् । —–रासस