खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले विकास निर्माणका योजनाहरु वडामै पुगेर सम्झौता गराएको छ। कार्यपालिका बैठकबाट पारित गरेरै चालु आर्थिक वर्षका योजना वडाबाट सम्झौता गराएको गाउँपालिकाले जनाएको छ।

पहाडी भूभाग भएकाले वडा र गाउँपालिका केन्द्रको दूरी टाढा तथा सबैतिर सडक बाटोको अवस्था राम्रा भइनसकेकाले योजना सम्झौता गर्न गाउँपालिका धाउन झन्झटिलो र खर्चिलो हुने भएकाले यो अवधारणा कार्यान्वयनमा ल्याइएको अध्यक्ष लोकेन्द्र राईले बताए। उनका अनुसार मंसिर २६ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत नेतृत्वमा कर्मचारी टोली वडा वडामा खटाएर हरेक योजनाको सम्झौता गराइएको छ।

अध्यक्ष राईले बिगतमा आफू वडाध्यक्ष हुँदा भोगेको पीडा अन्य वडाध्यक्षलाई नपरोस् भनेर यो कार्यक्रम थालेको बताए। अघिल्लो कार्यकालमा वडाध्यक्ष रहेका गाउँपालिका अध्यक्ष राईले आफुले भोगेको पीडा अहिले र भावी वडाध्यक्षले भोग्न नपरोस् भनेर यस्तो निर्णय गरेको बताए। ‘यसअघि म पनि वडाध्यक्ष थिएँ, गएको ५ वर्षमा आफ्नो वडाका योजनाहरु सम्झौता, निकासा, सम्पन्न र भुक्तानीसम्म गाउँपालिका धाउँदा धेरै हैरान भएँ’  वडाध्यक्ष हुँदाको स्मरण गर्दै अध्यक्ष राईले भने ‘त्यसैले गाउँपालिका अध्यक्ष भएपछि वडाबाटै योजनाहरुको सम्झौता गर्ने निर्णय गरेको हुँ।’

स्थानीय सरकारले चाहेमा जनतालाई सहज हुने कुनै पनि कार्यक्रम गर्न सक्ने उनले बताए। वडाध्यक्ष हुँदा झन्झटिलो भएपछि वडाबाटै योजनाहरु सम्झौता गर्न प्रस्ताव गरे पनि सुनुवाई नभएको उनले बताए। गरे हुँदो हो नि भनेर आफू अध्यक्ष भएपछि यो काम थालेको राईले बताए। परीक्षण कार्य सफल भएमा आगामी वर्षहरुमा योजना सम्झौतादेखि भुक्तानीसम्मका काम गर्ने विचारमा उनी छन्।

सामान्य ५० हजार, १ लाखका ससाना योजनाहरु पनि सम्झौता, निकासा, अनुगमन र भुक्तानी प्रक्रियाका लागि वडाध्यक्ष र उपभोक्ता समिति पटकपटक गाउँपालिका केन्द्र धाउनुपर्ने बाध्यता यसले अन्त्य गर्ने अध्यक्ष राईले बताए। हिजो आफूले भोगेजस्तो समस्या अबका वडाध्यक्षहरुले भोग्न नपरोस् र विकास निर्माणका काम छिटो छरितो र सहज ढंगले सम्पन्न गर्न सकियोस् भन्ने मुल उदेश्य रहेको अध्यक्ष राईले बताए।

यो अभियानसँगै कार्यपालिका निर्णय अनुसार गाउँसभाबाट पारित सबै योजनाहरु वडाबाटै सम्झौता गरेर कार्यान्वयन गर्न थालिएको गाउँपालिकाका योजना शाखा प्रमुख तथा सूचना अधिकारी पिएस्पी चामलिङले बताए। उनका अनुसार गाउँपालिका र वडाबाट छनौट भई स्वीकृत योजनाहरु वडाबाटै सम्झौता गर्ने काम सम्पन्न भइसकेको छ।

योजना सम्झौताका लागि गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई, सूचना अधिकारी तथा योजना अधिकृत बिएसपी चामलिङ, इञ्जिनियर मुकेशकुमार यादव र बिभिन्न बिषयगत शाखाका कर्मचारी टोली खटेका छन्। शुक्रबार दिउँसोसम्म टोली ७ वटै वडा पुगेर योजना सम्झौता कार्य सम्पन्न गरेको सूचना अधिकारी चामलिङले बताए।

प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादु्र राईले वडावडा पुगेर टोलीले सम्बन्धित वडाध्यक्ष, सचिव र उपभोक्ता समिति पदाधिकारीलाई बोलाएर योजना सम्झौता गराएको बताए। उनका अनुसार सम्झौता भएका योजनाहरुको कार्यान्वयन प्रक्रिया तुरुन्त थाल्न पनि सम्बन्धित वडाध्यक्ष र सचिवहरुलाई अख्तियारीसहित निर्देशन दिइएको छ। प्रमुख प्रशासकीय अधिकृत राईका अनुसार चालु आर्थिकवर्ष सञ्चालन हुने योजनामध्ये ८७ वटाको सम्झौता भएको छ। एउटा वडामा सरदर २० देखि २५ हाराहारी योजना सम्झौता भएको छ।

प्रमुख प्रशासकीय अधिकृत राईले योजना सम्झौता वडामा गरिएको तर, भुक्तानी भने गाउँपालिकाबाटै गरिने बताए। उनका अनुसार पहिलेजस्तो चेक काट्ने प्रणालीको अन्त्य भएर चालु वर्षदेखि विद्युतीय भुक्तानी (इएफटी) प्रणालीमा गईसकेकाले गाउँपालिकामै आउनुपर्ने तर, छिटोछरितो र सहज तरिकाले भुक्तानी हुने बताए।

चालु वर्षको गाउँसभाले दिप्रुङ चुईचुम्मा गाउँपालिकामा २६ वटा गाउँपालिकास्तरीय र २ सय ८१ वटा वडास्तरीय योजना पारित गरेको छ। अहिले सम्झौता भएबाहेकका योजनाहरु अर्को पटकमा यसै गरी वडामै पुगेर सम्झौता गरी समयमै निर्माण सम्पन्न गर्ने उदेश्य गाउँपालिकाले लिएको हाकिम राईले बताए। वडामै पुगेर सम्झौता गरेपछि निर्माण कार्य छिटो र सहज रुपमा हुने भन्दै उपभोक्ता र वडाबासीले खुसी व्यक्त गरेका छन्।

नागरिक न्युजबाट साभारछ ।