प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत सभ्य समाजको कंलक भएको बताएका छन्। १७औ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटरमा शनिबार आयोजित कार्यक्रममा देउवाले समनतामूलक समाज निर्माणको लागि सबै लागिपर्नुपर्ने बताए।
जातीय भेदभाव र छुवाछुतकै आधारमा दलित समुदायका व्यक्तिको ज्यानै जाने समेतका गम्भीर घटनाहरू हुनु दुःखद भएको देउवाले बताए। ‘यस्ता परिस्थितिको अन्त्य गर्न सरकार दृढसंकल्पित छ,’ राष्ट्रिय दिवसको अवसर शुभकामना सन्देशमार्फत देउवाले भनेका छन्, ‘सभ्य र आधुनिक समाज निर्माण गर्ने हामी सबैको दायित्व हो।’
कसैले कसैलाई पनि कुनै पनि किसिमको विभेद नगरी सबै किसिमका विभेदको आ–आफ्नो ठाउँबाट प्रतिवाद गर्नुपर्ने प्रधानमन्त्रीको सन्देश छ। जातीय भेदभाव र छुवाछुत सामाजिक रूपमा अनैतिक, अमानवीय र कानुनी रूपमा गम्भीर अपराधजन्य कार्य भएको उनले बताए।
व्यवस्था फेरियो अवस्था फेरिएन
राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले व्यवस्था फेरिए पनि दलितहरूको अवस्था भने अझै नफेरिएको गुनासो गरेका छन्। भेदभाव र विभेदका स्वरूप फेरिएको तर दलितमाथि हुने कुकर्म नरोकिएको उनीहरूको बुझाइ छ। ‘जातीय छुवाछुत मुक्त राष्ट्र घोषणाको १६ वर्षः उपलब्धि र चुनौती’ विषयक छलफल कार्यक्रममा वक्ताहरूले दलित आन्दोलन अझै सशक्त हुनुपर्नेमा जोड दिए।
‘विभेदका नयाँ स्वरुपहरू देखिन थालेका छन्,’ अधिकारकर्मी गणेश विकले भने, ‘यस्ता विभेदसँग लड्न झन कठिन हुनेछ।’ गैरदलितसँग प्रेम गरेको आरोपमा, मन्दिर छोएको निहुँमा अझै पनि दलित समुदायको हत्यासमेत हुने गरेको उनले सुनाए।
कार्यक्रममा पर्साका शम्भु हजरा पासवानलाई ‘इभा कसेल सामाजिक न्याय पुरस्कार–२०७९’ प्रदान गरियो।
चलचित्र ‘सर्वजित’को शुभ मुहूर्त
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा दलित आन्दोलनका सुरुवातकर्ता भगत सर्वजित विश्वकर्माको जीवनीमा आधारित चलचित्र ‘सर्वजित’ को पनि शुभ मुहूर्त भएको छ। दिनेश डिसीको निर्देशनमा तयार हुने उक्त चलचित्र १ करोड २५ लाखको लागतमा बन्ने छ। रणेन्द्र बराइलीको लेखमा आधारित उक्त जीवनकथाको छायांकन बागलुङ, पोखरा, पाल्पा, बनारस, काठमाडौंलगायत क्षेत्रमा हुने निर्माता दलित महिला केन्द्र नेपालले जनाएको छ।
चलचित्रका लागि दलित संघ संस्थाका अलावा नेपाल सरकारले समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। पर्यटन तथा संस्कृतिमन्त्री प्रेमबहादुर आलेले दलित आन्दोलनका धरोहरको चलचित्र बन्नु आफैंमा सुखद भएको बताए । प्रधानमन्त्री देउवाले पनि सर्वजितको जीवनीमा चलचित्र बन्नु राम्रो कुरा रहेको बताए। निर्देशक दिनेश डिसीले नेपाली दलित आन्दोलनका महानायक सर्वजित विश्वकर्माको जीवनकथा नेपालको हरेक जनमानसमा एक चेतना फैलाउने चलचित्रका रूपमा निर्माण हुने जनाएका छन्। ‘हरेक व्यक्तिले एकपटक हेर्नैपर्ने कथा हो यो,’ उनले भने, ‘यसले समाजका मनोवैज्ञानिक परिवर्तन ल्याउनेछ।’
को हुन् सर्वजित ?
नेपाली दलित आन्दोलनको इतिहासमा भगत सर्वजित विश्वकर्मालाई पहिलो धरोहर मानिन्छ। राणा शासनकालमै जात व्यवस्था र छुवाछुतजस्ता कुरीतिविरुद्ध डटेर विरोध गर्थे। उनले १९९७ सालमा विश्व सर्वजन संघ नामक संगठन स्थापना गरेर लागि अगाडि बढेका थिए।
बागलुङ नगरपालिका–७ र साबिकको मूलपानी गाविसमा १९५० सालमा जन्मिएका सर्वजित विश्वकर्मा धार्मिक क्रियाकलापमा समेत उत्तिकै रुचि राख्थे। उनले बनारसमा पढेर संस्कृतमा आचार्य उपाधि हासिल गरे। त्यसपछि उनलाई भगत सर्वजित भन्न लागिएको हो।
धर्मको डर देखाउँदै दलितलाई हेप्ने समाजमा उनले धर्मसंस्कृतिका विद्वता प्राप्त गरेपछि उनले धार्मिक ग्रन्थमा कहीँ पनि उचनीच छैन, धर्मका आधारमा कसैले पनि कसैलाई अपमानित गर्न मिल्दैन भन्ने बहसमा उत्रे। यस क्रममा कतिपय ठाउँमा उनी आक्रमणमा समेत परे। उनले उति बेला नै बालिघरे होइन, तत्कालै नगद पाउनुपर्छ भन्ने आवाज उठाए। यो मागलाई पूरा गराउन उनले चर्चित कामी र सुनाकारको टुँडो भाँच्ने, दर्जीका कल बन्द गर्ने, सार्कीहरूको छालाका काम बन्द गर्ने र पेसा बहिष्कार गर्ने जस्ता आन्दोलनको समेत अगुवाइ गरे।
राजगद्दी ताकेको र समाजमा व्यवस्था भाँडेको आरोप लगाउँदै उनलाई जेलमा हालिएको थियो। तत्कालीन दलित आन्दोलनलाई अझै सशक्त रूपमा अघि बढाउन भन्दै उनी छोरासहित भारतमा निर्वासित भएका सर्वजितको भारतमै २०१२ सालमा निधन भयो।


















प्रतिक्रिया दिनुहोस्