श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही नोभेम्बरमा कतारमा हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली कामदार लैजान स्वीकृति दिएको छ । कतारका विभिन्न कम्पनीले सन् २०२२ को विश्वकपलाई ध्यानमा राख्दै छोटो अवधिका लागि नेपाली कामदार लैजान चाहेको थियो र सोही अनुसार सरकारले सबै प्रक्रिया पूरा गरी नेपाली कामदार पठाउने निर्णय गरेको हो । मन्त्रालयका सहसचिव तथा रोजगार व्यवस्था महाशाखाका प्रमुख राजीव पोखरेलले छोटो अवधिका लागि कामदार पठाइने भएकाले श्रम स्वीकृति दिएर मात्रै पठाउने निर्णय गरिएको जानकारी दिनुभयो । मन्त्रालयको निर्णयसँगै कतारको दूतावासले छोटो अवधिका लागि कामदार लैजान इच्छुक रोजगारदाताले प्रस्ताव गरेका मागहरू प्रमाणीकरण गर्नेछ । कामदारको दुईतर्फी हवाई टिकट सहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने हुन्छ । कतारमा यस्ता कामदारको काम अवधि ६ महिनाभन्दा कम हुनेछ । भर्ती एजेन्सीहरू बाहेक छोटो अवधिको रोजगारीका लागि व्यक्तिगत रूपमा जान चाहनेहरूलाई पनि भिसा र वर्क परमिट भएमा जान दिइनेछ। कानुनबमोजिम श्रम स्वीकृतिको न्यूनतम अवधि दुई वर्ष हुने भए पनि अल्पकालीन कामका अवसर र भिसाका लागि श्रम स्वीकृति दिने कानुनी व्यवस्था पनि रहेको सहसचिव पोखरेलले बताए । कतार विश्वकपका लागि नेपालबाट कति कामदार लैजाने भन्ने टुंगो लागेको छैन ।रासस























प्रतिक्रिया दिनुहोस्