रौतहटको एउटा नगरपालिकामा उम्मेदवार नै नरहेको पार्टीले अविश्वसनीय मत प्राप्त गरेको छ। रौतहटको गढीमाई नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट उपप्रमुखमा उम्मेदवार नभए पनि चार हजारभन्दा बढी भोट रुख चिन्हमा आएको देखिएको छ।

नेपाली काँग्रेसले नेकपा एकीकृत समाजवादीसित गठबन्धन गरी गढीमाई नगरपालिकामा स्थानीय तहको चुनाव लड्दा नगर प्रमुखमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले नगर उपप्रमुख प्राप्त गरेको थियो।

नगर उपप्रमुखमा जसपा नेपालले ६६७१ मत प्राप्त गरी विजयी हुँदा उपप्रमुखको उम्मेदवार नै नउठाएको नेपाली काँग्रेसले ४११८ मत प्राप्त गरेको छ। गठबन्धनको तर्फबाट नगर उपप्रमुखको उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नागेन्द्र सिंहले ५९०२ मत प्राप्त गरी पराजय भोेगेका छन्। उपप्रमुखमा उम्मेदवार नै नउठाएको नेकाले प्राप्त गरेको करिब सात सय मत मात्र गठबन्धनले पाउँदा गठबन्धनका तर्फका उम्मेदवार सिंह जित्ने देखिन्छ।

नगर प्रमुखमा उम्मेदवार नै नउठाएको नेकपा एकीकृत समाजवादीले पनि ८८४ भोट प्राप्त गरेको छ।

गठबन्धनले मतदातालाई राम्ररी जानकारी गराउन नसक्दा आफूले समर्थन गर्ने उम्मेदवार पक्षमा प्यानल भोट दिएकोले उम्मेदवार नै नभएको छापमा मतदाताले अत्यधिक मत खसालेको देखिन्छ।

रौतहटमा सबैभन्दा बढी मत बदर भएको पालिका गढीमाई नगरपालिका हुन गएको छ। केन्द्रमा गठबन्धन भएको भए पनि रौतहटमा भने गठबन्धन हुन सकेको थिएन।

यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो