काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको सङ्केत चिन्न तयार गरेको छ।  चिन्न तयार भएसँगै कामपाले सार्वजनिक शौचालय सञ्चालनको लागि इच्छा भएका सङ्घ संस्थालाई सम्पर्क गर्न पनि आग्रह गरेको छ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी सङ्घसंस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकलाई कामपाले सार्वजनिक निजी साझेदारी इकाइमा सम्पर्क राख्न आग्रह गरेको हो।

काठमाडौँ महानगरपालिकासँग सहकार्य भएको सङ्घसंस्थाको शौचालयमा प्रयोगकर्तालाई सहज होस् भन्ने उद्देश्यले सबैमा एकै किसिमको सङ्केत चिन्न राखिएको कामपाले जानकारी गराएको छ। लोगो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ। बिच भागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ। सङ्केत चिन्हको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ।

सर्वसाधारणको सहजताको लागि कामपाको सञ्चालन गर्न लागेको शौचालय पहिलो चरणमा करिब ६०  शौचालय प्रयोगमा ल्याउने भएको छ।

नवनिर्वाचित महानगरप्रमुख बालेन्द्र साहको संयोजकत्वमा अघिल्लो सोमबार बसेको पहिलो  कार्यपालिका बैठकको निर्णय अनुसार हाल कामपामा रहेका झण्डै ५८ सार्वजनिक शौचालयलाई मर्मतसम्भार गरी पुनः प्रयोग गर्ने र सहकार्यमार्फत तत्काल ६० शौचालय प्रयोगमा ल्याउन लागिएको हो।

प्रमुख साहले पहिलो बैठकमै गरेको निर्णय फोहाेर व्यवस्थापन र भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनसम्बन्धी काम पनि अघि बढेको कामपाको प्रशासन प्रमुख महेश काफ्लेले जानकारी दिए। रासस