जनप्रतिनिधिसँग प्रकृति संवाद कार्यक्रममा आफ्नो कुरा राख्दै बालजागृति इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूलका एकजना विद्यार्थी ।
हेटौंडा । हेटौंडा उपमहानगरपालिका टोल विकास नगर समन्वय समितिले जनप्रतिनिधिसँग प्रकृति संवाद यात्रा कार्यक्रमको आयोजना गरेको छ । ५६ औं विश्व वातावरण दिवसको अवसरमा हेटौंडा सञ्चालन भइरहेको  सप्ताहव्यापी कार्यक्रम अन्तर्गत टोल विकास नगर समन्वय समितिले हेटौंडा–१०,स्थित फरेष्ट्री क्याम्पसमा जनप्रतिनिधिसँग प्रकृति संवाद यात्राको आयोजना गरेको हो । आइतबार सप्ताहव्यापी कार्यक्रमको तेस्रो वन वातावरण तथा विपद् व्यवस्थापन नगर समितिका संयोजक समेत रहेका १० नम्बर वडाका वडाध्यक्ष फूर्वादोर्जे लामासँग विद्यार्थीले प्रकृति संवाद यात्रा गरेको टोल विकास नगर समन्वय समितिका महासचिव शिवहरि दहालले जानकारी दिएका छन् ।
हेटौंडा उपमहानगरपालिकाको सहयोगमा तथा नेपाल युथ फर क्लाइमेट एक्सन हेटौंडा (एनवाइसीए) हेटौंडा र सामुदायिक विकास तथा सचेतना नेपालको समन्वयमा भएको संवाद कार्यक्रममा विभिन्न विषयमा केन्द्रीत रहेर कार्यक्रम गरिएको टोल विकासका महासचिव शिवहरि दहालले बताए । विशेषगरी वन जङ्गलको प्राकृतिक, जङ्गली जनावर, बोटबीरुवा, किरा फट्याङग्रा बारेमा प्रकृति संवाद कार्यक्रममा जानकारी गराइएको महासचिव दहालले बताए । वन जङ्गलको जर्गेना गर्नुपर्ने, जनवारको संरक्षण गर्नुपर्ने र यसको संरक्षणले मानिसलाई हुने लाभको बारेमा केन्द्रीत रहेर संवाद गरिएको उनले बताए । संवाद यात्रामा ३० वटा विद्यालयबाट सहभागी भएका ८० जना विद्यार्थीलाई फरेष्ट्री क्याम्पसको हाताभित्र भ्रमण गराएर त्यहाँको प्राकृतिको र बोट बीरुवाको बारेमा समेत जानकारी गराइएको उनले बताए ।
उनका अनुसार संवाद यात्रामा फरेष्ट्री क्याम्पसका विद्यार्थीको पनि सहभागिता रहेको थियो । टोल विकास नगर समितिको अध्यक्ष धूर्वप्रसाद अधिकारीको सभाध्यक्षमा भएको संवादमा समितिका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । बालबालिकालाई कतिपय अवस्थामा कक्षाकोठामा अध्ययन मात्र गराएर भन्दापनि वातावरणको बारेमा बुझाउनका र त्यहाँ घुलमिल गराउनका लागि संवाद यात्राको गराइएको एनवाइसीका सञ्जाल संयोजक निश्चल भट्टले बताएका छन् । एनवाइसीए हेटौँडाको नेतृत्वमा सहभागी विद्यार्थीलाई जलवायु, वनजङ्गल, वातावरण, वन जङ्गलमा आगोलागी हुनुका कारणको बारेमा जानकारी गराइएको निश्चल भट्टले बताए ।वातावरण प्रदुष्णबाट मानिसलाई बचाउनका लागि वनको आवश्यकताको बारेमा बुझाइएको उनले बताए ।
यस्तै, सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार भएको चित्रकला प्रतियोगिताको नतीजा सोमबार सार्वजानिक गरिने बताइएको छ । भोलि सोमबारै दुई वटा कार्यक्रम हुनेछ । हेटौंडा–८,स्थित औद्योगिक क्षेत्रको खेल मैदानमा बोतलसँग बीरुवा साट्ने कार्यक्रम र दिउँसो जलवायु समस्या समाधन विषयक प्यानल छलफल कार्यक्रम हुनेछ । हरेक वर्ष जुन महिनाको ५ तारिखमा विश्व वातावरण दिवस मनाइने गरेको छ ।