जिल्ला प्रहरी मकवानपुरले अवैध हतियार पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

रौतहट जिल्लाको गौरबाट हेटौंडातर्फ आउँदै गरेको ना.८ ख ८७७३ नम्बरको बसलाई रोकेर हेटौंडा–१५ स्थित रातोमाटेमा चेकजाँजका क्रममा पेस्तोल र गोलीसहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सोमबार पत्रकार सम्मेलनमा जानकारी दिदै भारतको बिहार सिहुहर जिल्ला धनहरा ग्राम बस्ने वर्ष २२ का धिरजकुमार र मोतीहारी जिल्ला बहरी ग्राम बस्ने वर्ष २६ का दीपक कुमारलाई पक्राउ गरेको प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताएका हुन् ।

एसपी खड्काले जानकारी दिए अनुसार उनीहरुको साथबाट सलाईको बट्टाभित्र लुकाएको अवस्थामा दुई राउन्ड गोली १ राउन्ड गोली लोड भएको ९- एमएम. को अटो पेस्तोल  बरामद भएको हो ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे र अस्थायी प्रहरी पोस्ट हरियालीको टोलीले चेकिङ गर्ने क्रममा पेस्तोल सहित पक्राउ गरिएपछि अवैध हतियारका विषयमा अनुसन्धान भइरहेको बताए ।