रोहित पौडेल र आरिफ शेखको शतकीय साझेदारी प्रेरणामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा सुखद सुरुआत गरेको छ।
सारजहाँ क्रिकेट मैदानमा बुधबार रोहित र आरिफको शतकीय साझेदारी प्रेरणामा नेपालले पुपुवा न्युगिनी (पिएनजी) माथि दुई विकेटको जित निकाल्दै जारी एकदिवसीय शृंखलामा सुखद सुरुआत गरेको हो। २ सय ५ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले चार बलअगावै रोमाञ्चक जित दर्ता गर्दा पिएनजीसँगको तेस्रो एकदिवसीय भेटमा शतप्रतिशत सफलता प्राप्त गर्यो।
यससँगै विश्वकप लिग–२ को अंकतालिकामा नेपाल ९ खेलबाट १० अंक जोड्दै छैटौं स्थानमा यथावत् रहँदा पिएनजी १४ खेलसम्म जितविहीन रहँदै पुछारमा छ। नेपालको जितमा रोहित र आरिफले अर्धशतकीय इनिङ खेले।
रोहित ५८ रन र आरिफ ५३ रनमा क्रमशःपाँचौं र छैटौं विकेटका रूपमा आउट भए। एक समय ४२–४ को खराब स्थितिमा रहेको नेपालको इनिङमा यो जोडीले पाँचौं विकेटका लागि १ सय २ रनको साझेदारी गर्दै दरिलो साथ दिए। यी दुई पवेलियन फर्किएपछि धरमराएको नेपालको इनिङमा करण केसीले २९ रनको अविजित इनिङ खेले। अन्तिम ओभरमा जितका लागि पाँच रन आवश्यक हुँदा करणले पहिलो दुई बलमा लगातार चौका र छक्का प्रहार गर्दै रोमाञ्चक जित दिलाए। उनले २५ बलमा एक चौका र दुई छक्का हिर्काए।
८५ बल रहेको रोहितको इनिङमा चार चौका रह्यो। समालिएर खेलेका आरिफले ८१ बलमा दुई चौका प्रहार गरे। नेपालले लयमा रहेका कुशल भुर्तेललाई १ रनमा गुमाउँदा ज्ञानेन्द्र मल्ल पनि ४ रनमै पवेलियन फर्किए। अर्का ओपनर आसिफले १६ रन बनाउँदा भरपर्दा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी पनि ८ रनमा पवेलियन फर्किएपछि नेपाल दबाबमा पर्यो। तर, रोहित र आरिफले इनिङ समाल्दै जितको आधार बनाए। पिएनजीका बलरले धारिलो बलिङ गर्दै सुरुआतदेखि नै दबाबमा राखे र नर्मन भानुआ, एलेई नाओ र रिले हाकुरेले समान दुई विकेट लिए।
चाड सोपर र असाद भालाको नाममा १/१ विकेट रह्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुपुवा न्युगिनी राम्रो सुरुआतका बावजुद आठ विकेटको क्षतिमा २ सय ४ रन मात्र बनाउन सफल भयो। उसले ९.४ ओभरमा पहिलो विकेट गुमाउँदा ५१ रन बनाएको थियो। आरिफले टोनी उरालाई विकेटपछाडि क्याच आउट गराउँदै ब्रेक थ्रु दिलाए। नेपाली बलरले लय समात्दै ठूलो योगफल बनाउन दिएनन्। पपुवा न्युगिनीका चाल्र्स अमिनीले सर्वाधिक ५९ रन जोड्दा सात चौका र एक छक्का प्रहार गरे। शीर्ष तीन ब्याट्सम्यान उराले २७,लेगा सियाकाले २५ र कप्तान असादले १९ रन जोडे।
चौथो क्रमका ब्याट्सम्यान अमिनीले अर्धशतक बनाएका हुन्। चाड सोपरले ३५ रन र भानुआले २३ रनको योगदान दिए। १३औं ओभरमा कप्तान सन्दीप लामिछानेले सियाकालाई बोल्ड गरे। तेस्रो विकेटको लागि कप्तान असाद र अमिनीले ३५ रन जोडे। तर, २४औं ओभरमा असादलाई ज्ञानेन्द्र मल्लले आउट गर्दै पहिलो अन्तर्राष्ट्रिय विकेट लिए। लगत्तै अर्को ओभरमा खाता नखोली हिरी हिरी मल्लद्वारा रनआउट भए। ९१–४ को अवस्थामा पुगेको पपुवा न्युगिनीको इनिङ अमिनी र सोपरले ७४ रनको साझेदारी गर्दै उकासे।
३५औं ओभरमा सोमपाल कामीले अमिनीलाई क्याचआउट यो गर्दै साझेदारी तोडे। ४९औं ओभरमा सोमपालले चाड सोपरसहित दुई विकेट लिए। सोमपालले १० ओभरमा सर्वाधिक तीन विकेट लिँदा ४८ रन खर्चिए। आरिफ, सन्दीप र ज्ञानेन्द्रले समान एक विकेट निकाले। नेपालले दोस्रो खेल शुक्रबार युएईसँग खेल्नेछ।
यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो




















प्रतिक्रिया दिनुहोस्