हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । मंसीर ३ गते बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा बसेको राष्ट्रपति रनिङ्ग शिल्ड निर्देशन तथा व्यवस्थापन समितिको बैठकले पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको हो ।

८ औं संस्करणको प्रतियोगिता आगामी पुष ११ गतेबाट सुरु पुष १३ गतेसम्म गाउँपालिका वडा नम्बर–४, झुरझुरेस्थित सहिद स्मृति रंगशालामा हुनेछ । गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तथा गाउँपालिकाको कार्यालयको प्रयोजनमा हुने यस वर्षको ८ औं संस्करणको प्रतियोगितामा छात्र/छात्रा फुटबल, भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते, तेक्वान्दो र उसु लगायतका खेलहरु सञ्चालन हुनेछ ।

यस अघि ७ औं संस्करणको प्रतियोगिता सम्म फुटबल र उसु प्रतियोगिता नभएको तर यो वर्ष भने यी दुबै खेललाई पनि प्रतियोगितामा समावेश गराइएको बताइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले एक सूचना जारी गर्दै प्रतियोगितामा कक्षा–६ देखि कक्षा–१२ सम्म अध्ययनरत १८ वर्ष भन्दा कम उमेर समूहका खेलाडीहरुले सहभागिता जनाउन पाउने जानकारी गराएका छन् ।

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भएका खेलाडीहरुले समावेश हुन नपाउने प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताए । रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका ( पाचौँ संशोधन) को दफा २ (घ) बमोजिमका अन्तर्राष्ट्रिय खेलाडीले प्रतियोगितामा सहभागी हुने नपाउने उनले बताए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः स्वर्ण, रजत र काँस्यपदक सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ट्रफी प्राप्त गर्नेछन् । पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिबाट छनौट हुने खेलाडीले मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुन पाउने छन् । यस्तै जिल्लाबाट छनौट हुने खेलाडीले प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुन पाउने छन् ।

रातो समाचार संवाददाता
थप जानकारी