उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म उद्योगमा ३३ अर्ब रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिवद्धता स्वीकृत भएको बताएका छन्।

महानिर्देशक तिवारीले चालु आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्म विदेशी लगानीसँग सम्बन्धित १५५ वटा विभिन्न परियोजनाहरु प्रस्ताव भएर विदेशी लगानी स्वीकृत भइसकेको बताएका हुन्।

उद्योग विभागले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको कुल प्रस्तावित विदेशी तथा स्वदेशी लगानीको उद्योग दर्ता गरेको छ। गत आर्थिक वर्षको यही अवधिमा विदेशी तथा स्वदेशी लगानीमा १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको विदेशी तथा स्वदेशी लगानीका उद्योग दर्ता भएको विभागले जनाएको छ ।

उद्योग विभागमा दर्ता प्रक्रियालाई नियाल्दा क्रमशः उद्योग दर्ता गर्ने, विदेशी लगानी स्वीकृत गर्ने क्रम बढिरहेको तिवारीले बताए। महानिर्देशक तिवारीले बिस्तारै उद्योगहरु आफ्नो क्षमतामा सञ्चालन हुने र नियमित उत्पादनतर्फ अग्रसर भइरहेको दाबीसमेत गरे।

उनले स्वदेशी लगानीका उद्योगहरु चालु आर्थिक वर्षमा अहिलेसम्म २१६ वटा उद्योग विभागमा दर्ता भएको बताए। महानिर्देशक तिवारीले उद्योगहरुले उत्पादन क्षमता बढाउने, पूँजी वृद्धि गर्ने, स्थानान्तरण गर्ने लगायतका उद्योग प्रशासनसँग सम्बन्धित कामहरु पनि उद्योग विभागमा वृद्धि भइरहेको जानकारी दिए।

महानिर्देशक तिवारीले हालसम्म उद्योग विभागमा दर्ता भएका उद्योगहरुमध्ये ५९ प्रतिशत उर्जमा आधारित रहेको र लगभग २२ प्रतिशत उद्योग उत्पादन तथा प्रशोधन क्षेत्रमा रहेको जानकारी दिए। उनले विदेशी लगानीका उद्योगहरुमा पनि एक तिहाई उद्योगहरु सेवा क्षेत्रमा रहेको जानकारी दिए।
साभार – बिजमाण्डू