नेपालभाषा साहित्य महोत्सवको चौथो संस्करण कीर्तिपुरमा हुने भएको छ। कीर्तिपुर नगरपालिकाको विशेष सहयोगमा हुने महोत्सव यही चैत ११ र १२ गते ‘कीर्तिपुर नगरपालिका चौथो नेपालभाषा साहित्य महोत्सव’को नाममा सञ्चालन हुने भएको हो।
विभिन्न ७ वटा सेसनमा सञ्चालन हुने महोत्सवको उद्घाटन समारोहमा विभिन्न विधाका पाँच पुस्तकको लोकार्पण हुने बताइएको छ। आयोजक कमिटीका अध्यक्ष रमेशकाजी स्थापितले सोमबार पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रममा पूर्णराम मुनंकर्मीको निबन्ध ‘नेवाः गौरव’, महाकवि गिरिजाप्रसाद जोशीको उपन्यास ‘गिरिजाप्रसादया उपन्यास’, रामभक्त कायस्थको हाइकु संकलन ‘लखय् लूगु किचः’, स्नेह सायमिको लघुकथा संकलन ‘स्नेह साय्मिया चिबाखं’ र राजेन्द्र कुमार ‘पुता’को सांस्कृतिक उपन्यास ‘खिउँफल्चा’को लोकार्पण गर्ने कार्यक्रम रहेको बताए।
त्यस्तै महोत्सवमा ‘नेवाः ऋतु संगीत’, ‘नेपालभाषा पठनपाठनबाट साहित्य विकास’ र ‘कीर्तिपुरको सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम हुनेछ। महोत्सवको क्रममा कीर्तिपुरको सम्पदा भ्रमणलगायत नेपालभाषाका पुस्तक प्रदर्शनी, नेवारी खाना महोत्सव पनि हुने उनले बताए।
कीर्तिपुरको दरबार लागा र पांगा लाछिमा हुने कार्यक्रममा ४० जना वरिष्ठ तथा नयाँ पुस्ताका साहित्यकारले रचना पाठ गर्नेछन्। महोत्सवको दुवै दिन हुने सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा नेपालभाषाका प्रहसन, एकांकी नाटक प्रस्तुत गरिनेछ भने निशा देसार, सतिस महर्जन, रत्नशोभा महर्जनलगायत गायकगायिका तथा कीर्तिपुर आइडलका विजेता र सहभागीले सांगीतिक प्रस्तुति दिनेछन्।
महोत्सवकै क्रममा आ–आफ्नो पालिकाअन्तर्गत स्कुलहरूमा नेपालभाषा पठनपाठनको व्यवस्था गरी नेपालभाषा विकासमा महत्वपूर्ण योगदान दिने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र उपमेयर सरस्वती खड्का रिजाललाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष स्थापितले बताए। नेपालभाषा साहित्य विकासको उद्देश्य लिई सन्ध्या टाइम्स पिथना प्रालिको प्रकाशन नेपालभाषा टाइम्स दैनिकको आयोजनामा विगत पाँच वर्षदेखि नेपालभाषा साहित्य महोत्सव हुँदै आइरहेको छ।
यो समाचार गोरखापत्र बाट साभार गरिएके हो



















प्रतिक्रिया दिनुहोस्