काँकडभिट्टा — पहाडे होलीको दिन बिहीबार नदी तथा तलाउ किनारमा गएर मारवाडी पुरुषले बाँसको लिंगो गाडे । महिलाले गोबरको गुइँठा पुजेर चढाए । होलिकाको दहन गरियो ।

वसन्त पञ्चमीदेखि आरम्भ हुन्छ । बर्सेनि होली मिलन समारोह आयोजना गर्छन् । त्यो मौकामा होलीबारे समीक्षा, अन्तरसंवादसँगै सामूहिक भोज पनि हुन्छ ।

 

‘होलीको दिन बिहानै सवै क्षेत्रका मारवाडी एकै स्थानमा भेला हुन्छन् र डम्फू बजाउँदै नदी किनारमा जान्छन्,’ झापा भद्रपुरका मारवाडी अगुवा तथा प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सरावगीले भने, ‘होलिका दहन गरेको स्थानको दर्शन गरिन्छ, खरानीको टीका लगाएर डम्फू बजाउँदै होलीको औपचारिक आरम्भ भएको घोषणा गरिन्छ ।’

मारवाडी समुदायमा पुरुष र महिलासँगै होली खेल्ने प्रचलन छैन । तर यो पुरातन सोचवाट युवा पुस्ता विस्तारै परिवर्तन हुन थालेको मन्त्री सरावगी बताउँछन् । ‘हाम्रो समुदायमा महिलालाई त्यती स्वतन्त्रता दिइँदैन’, एक मारवाडी महिलाले भनिन्, ‘जसका कारण महिला अलग्गै होलीको रंगमा रमाउँछन्, पुरुषसँग मिसिँदैनन् ।’ उद्गम थलो भारतको राजस्थान भएका मारवाडी अहिले झापासहित देशका विभिन्न जिल्लामा छरिएर बसेका छन् । विगतमा झापा र मोरङमा व्यापार व्यवसाय गरेर बसेका उनीहरू अहिले काठमाडौं, पोखरा, नेपालगन्ज, धनगढी, भैरहवा, बुटवलसहित पहाडी जिल्लामा पनि पुगेका छन् ।

‘झापा र मोरङमा सीमित थियौ, धेरै विस्थापित भएर भारतै फर्किए,’ मन्त्री सरावगीले भने, ‘जति छन् देशका विभिन्न जिल्लामा छरिएर वसेका छन् ।’ होली सकेपछि नुहाइधुवाइ गरी पुनः भेट गर्छन् । एकआपसमा अंकमाल गर्ने र ठूलालाई ढोगेर आदर र सम्मान गर्दै मनमुटाव सधैंका लागि पखालिएर जाओस् भनी कामना गर्छन् । तराईमा बस्ने मारवाडी भारतमा पितापुर्खाले चलाएको चलन अनुसरण गर्दै होलीमा रमाउँछन् । लोकगीत, परिकार र शालीनताका साथ रंगको आदान–प्रदान यो समुदायको होलीको विशेषता हो । त्यही भएर यो समुदायको होली अन्य जातजाति, समुदायको भन्दा भिन्न हुन्छ ।

 

होलीलाई उनीहरूले विशेष पर्वको रूपमा मनाउँछन् । होली आउनु महिना दिनअघिदेखि जुट्छन् । हरेक दिन साँझदेखि अबेरसम्म हरेकको घरमा आलोपालो लोक संगीतको महफिल लाग्छ जहाँ एक प्रकारको परम्परागत बजा डफलीको तालमा होली गीत गाइन्छ ।

‘साँझपख एक ठाउँमा भेला हुन्छौं, गीत र बाजा बजाउँदै बोलाइएको घरमा पुग्छौं,’ नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका निवर्तमान केन्द्रीय अध्यक्ष बजरंग अग्रवालले भने, ‘महफिलमै अर्कोले भोलिका लागि निम्तो दिन्छ, यो क्रम होली अगाडिसम्म चलिरहन्छ ।’ काँकडभिट्टा, धुलाबारी, बिर्तामोड, भद्रपुर तथा दमक क्षेत्रमा मारवाडीको वाक्लो बसोबास छ । मारवाडी समुदायका सञ्चारकर्मी पंकज शर्मा भन्छन्, ‘होली हाम्रो प्रमुख चाड हो, यसलाई सधैंझैं यसपालि पनि विशेष बनाउने हाम्रो योजना छ ।’

कोरोना कहरले अघिल्लो दुई वर्ष होली उल्लासमय बन्न सकेन । जसकारण पनि यो वर्षको होली विगतको भन्दा वढी महत्त्वको रहेको पत्रकार शर्मा बताउँछन् । ‘यसपालि खुलेर होली खेलिन्छ’, उनले थपे ।

मारवाडी समुदायको होलीको आरम्भ वसन्त पञ्चमीदेखि नै हुन्छ । भद्रपुर मारवाडी संघ, मारवाडी महिला मञ्च, युवा मञ्चलगायतले प्रत्येक वर्ष होली मिलन समारोह आयोजना गर्छन् । त्यो मौकामा होलीबारे समीक्षा, अन्तरसंवाद मात्रै हुँदैन, सामूहिक भोज पनि हुन्छ । ‘होलीको चार दिनअघि रंगारंग कार्यक्रम आयोजना गरिन्छ, जुन दिन मारवाडी समुदायको कुनै पनि घरमा खाना पाक्दैन,’ झापा धुलाबारीका व्यवसायी पन्नालाल जैनले भने, ‘भोजनसँगै विविध सांस्कृतिक, सांगीतिक कार्यक्रम आयोजना गरिन्छ ।’

पुराना व्यवसायी भाष्कर शर्माका अनुसार भद्रपुर नगर क्षेत्रमा मारवाडीका अलावा मैथिली, वंगाली र भोजपुरी समुदायको बाक्लो बसोबास छ । नगरपालिकाका अनुसार भद्रपुर नगरपालिकाको जनसंख्यामध्ये एक चौथाइ यी समुदायले ओगटेका छन् । मारवाडीजस्तै मैथिली, भोजपुरी र बंगाली समुदायको पनि होली मनाउने शैली फरक छ । बंगाली समुदायले पूर्णिमादेखि पञ्चमीसम्म होली मनाउँछन् । अघिल्लो दिन कृष्ण भगवान्को पूजा आराधना गर्दै औपचारिक होली उत्सवको सुरु हुने अगुवा बंगाली शान्तना मण्डलले जानकारी दिइन् । उनका अनुसार होलीको दिन यो समुदायमा ठूलाले सानालाई खुट्टामा अबिर दल्दै ढोक्ने अनौठो प्रचलन छ । मैथिल र भोजपुरी समुदायले पनि मारवाडीको सिको गर्दै होली मनाउने गरेका छन् । उनीहरूले डम्फू बजाउँदै बजार घुम्ने र खानपिन गरेर खुसी साटासाट गर्छन् ।

यो समाचार कान्तिपुर बाट साभार गरिएके हो ।