नेपालले आईसीसी विश्वकप लिग(२ क्रिकेटमा यूएईविरूद्धको खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । यूएईले शुक्रबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।
नेपालले दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो पटक खेलिरहेको हो । यूएई र नेपाल दुवैले आफ्नो पहिलो खेलमा पपुवा न्यु गिनीलाई पराजित गरेको थियो । शारजहाँमा पपुवा न्यु गिनीविरूद्ध यूएईले ७ विकेटले र नेपालले २ विकेटको विजय हात पारेको थियो ।
नेपालले विकेटकिपर ब्याटर विनोद भण्डारीको स्थानमा कमलसिंह ऐरीलाई खेलाएको छ । तीब्र बलर कमलको यो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो । विनोदको स्थानमा आसिफ शेखले नेपालको विकेटकिपिङ सम्हाल्ने छन् ।
सन् २०२३ को विश्वकप छनोटको आधार रहेको लिग २ को अंकतालिकामा यूएई दोस्रो र नेपाल छैटौं स्थानमा छन् । सात राष्ट्रसम्मिलित लिग २ मा यूएईको १५ खेलको तुलनामा नेपालले ९ खेलमात्र खेलेको छ ।
२०१८ मा विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएयता नेपालले यूएईसँग चारपल्ट खेलेको छ र त्यसमा दुवै टोलीले २–२ मा जित हात पारेका छन् । २०१९ मा दुबईको आईसीसी ग्लोबल क्रिकेट एकेडेमीमा खेलिएको तीन खेलको शृंखला नेपालले जितेको थियो ।
पहिलो खेलमा ३ विकेटको पराजय भोगे पनि नेपालले दोस्रो र तेस्रोमा क्रमशस् सोमपाल कामीको ५ विकेट र पारस खड्काको शतकमा यूएईलाई पराजित गरी शृंखला जितेको थियो ।
अघिल्लो महिनामात्र ओमानमा ट्वान्टी–२० विश्वकप छनोटमा यूएईले नेपाललाई सेमिफाइनलमा पराजित गरेको थियो । नेपाललाई विश्वकपमा पुग्नबाट रोकेको यूएईसँग बदला लिने अवसर नेपालसामु रहेको छ ।
यो समाचार कान्तिपुर बाट साभार गरिएके हो




















प्रतिक्रिया दिनुहोस्