तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेपछि सामूहिक तस्बीर खिचाउँदै ।

हेटौंडा । हेटौंडा–४,स्थित भुटनदेवी माध्यमिक विद्यालयले प्राविधिक शिक्षामा प्राथमिकता दिँदै आइरहेको छ । प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै भुटनदेवी मावि (प्राविधिक शिक्षालय)ले सञ्चालन गरेको एक महिने उद्यमशीलता तालिम समापन गरिएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकि नगर प्रमुख मीनाकुमारी लामाले विद्यार्थीको लागि प्राथामिक अध्ययन हो भने साथमा सीप पनि आवश्यक रहेको बताएकी छिन् । उनले विद्यालयले सीपमूलक तालिम सञ्चालन गरेर निकै महत्वपूर्ण कार्य गरेको र हेटौंडाको अग्रिणी विद्यालय भुटनदेवी माविमा यस्तो सृजनात्मक र सीपमूलक कार्य गरेर शिक्षाको दायरालाई फराकिलो बनाएको बताइन् ।

हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले भुटनदेवी मावि आफैँमा प्राविधिक शिक्षालय भएकोले औपचारिक शिक्षाका साथै विद्यार्थीको शारिरीक र मानसिक चौतर्फी विकासमा विभिन्न सीपमूलक र अतिरिक्त क्रियाकलापमा पनि प्राथमिकता दिएको बताए । उनले शिक्षामा सुधार गर्ने हो भने प्राविधिक र सीपमूलक शिक्षामा सबै तहको सरकार र विद्यालय लगानी गर्नुपर्ने बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहालले ईलेक्टिकल २० जना, व्यूटी पार्लर २० जना र कपाल काट्ने २० गरी ६० जनालाई १ महिना तालिम प्रदान गरिएको बताए । उनले विद्यालयको आन्तरिक श्रोतबाट बजेट व्यवस्थापन सीपमूलक तालिम सञ्चालन गरिएको बताए । कार्यक्रममा प्रशिक्षार्थी र प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, विध्यालय व्यवस्थापन समिति सदस्य राजेन्द्रकुमार बस्ताकोटी, सहप्रधानाध्यापक भरत पोखरेल, शिक्षक प्रतिनिधि सूर्यप्रसाद घिमिरे, मावि संयोजक संगीता उप्रेती, प्रावि संयोजक मुकुन्द न्यौपाने, प्रशिक्षकहरू ज्ञानेन्द्र देवकोटा( ईलेक्टिक), किरण अधिकारी (हेयर कटिङ्ग) र सकुन्तला बानियाँ (व्यूटिपार्लर) लगायतको उपस्थिति रहेको थियो ।