पत्रकार सम्मेलनमार्फत कार्यक्रमको बारेमा जानकारी गराउँदै आयोजक समितिका पदाधिकारीहरु ।

हेटौंडा । हेटौंडा–४,स्थित नवोदय शिशु सदन बोर्डिङले मोडल युनाइटेड नेशनल (मुन) कार्यक्रमको आयोजना गर्ने भएको छ । मंगलबार नवोदय नमुना संयुक्त राष्ट्र परिषद्का महासचिव निकेश श्रीवास्तवले पत्रकार सम्मेलनको आयोजना गर्दै यही बिहिबारदेखि शनिबारसम्म नवोदय बोर्डिङले मुन कार्यक्रमको आयोजना गर्न लागेको जानकारी गराएका छन् ।

विद्यार्थीमा नेतृत्व विकास गर्न, समूहिक छलफल गर्दै विचार धारणा राख्न, गतिविधिमा आधारित शिक्षालाई प्राथमिकता दिन, नेतृत्व व्यक्तिगत विकास, समालोचना शिक्षा सोचाइ, सहकार्य, वादविवाद अन्तर्निहित प्रतिभाको उजागर र अन्तर्राष्ट्रिय सम्बन्ध नीति नियम, योजना तथा समस्या समाधान बारे विश्लेष्ण गर्नका लागि मुन कार्यक्रमको अयोजना गर्न लागि कार्यक्रम गर्न लागेको परिषद्का महासचिव निकेश श्रीवास्तवले बताए । मुन कार्यक्रम मार्फत विद्यार्थीलाई कुटनीतिक, अन्तर्राष्ट्रिय सम्बन्ध र विभिन्न देशहरुको संयुक्त राष्ट्रको प्रतिनिधिको बारेमा सिक्ने अवसर प्रदान गर्ने उनले बताए ।

कार्यक्रममा कक्षा–८ देखि कक्षा–१० सम्मका करिब २ सय ५० जना विद्यार्थीको सहभागिता रहने उनले बताए । उनका अनुसार १ सय ८० जना बाहिरी क्षेत्रको बोर्डिङका विद्यार्थी कार्यक्रममा सहभागी हुनेछन् भने बाँकी नवोदय बोर्डिङकै विद्यार्थी सहभागी हुनेछन् । कार्यक्रममा विद्यार्थीले राष्ट्रको प्रतिनिधिको भूमिका निर्वाह गरेर राष्ट्रको पक्षमा रहेर विश्वव्यापी मुद्धामा छलफल, राष्ट्र संघको मुख्य पूर्व निर्धारित समयमा वृहत छलफल गरिने उनले बताए ।

कार्यक्रममा सहभागी हुनका लागि हेटौंडा भित्रका विद्यार्थीसँग प्रतिविद्यार्थी २ हजार रुपैयाँको दरले दर्ता शुल्क र बाहिरी क्षेत्रका विद्यार्थीसँग प्रतिविद्यार्थी ६ हजार रुपैयाँको दरले दर्ता शुल्क लिइने उनले बताए । कार्यक्रममा मकवानपुरको बालविद्या सदन र कमाने एकेडेमीको सहभागिता रहने छ भने बाहिरी जिल्ला नवलपरासीको आरम्भ एकेडेमी, बुटवल एपेक्स विद्यालय, रौतहटको नेपाल पुलिस स्कूल, पोखरा लर्नर एकेडेमी र सौराहको इन्टरनेशनल स्कूलको पनि सहभागिता रहने उनले बताए ।