भोजराज संजेल

भोजराज संजेल – हेटौंडा उपमहानगरपालिका अन्तर्गतको नगर बाल सञ्जालको पूनःगठन प्रक्रिया केही दिनअघि सम्पन्न भएको छ । बालबालिकाको नेतृत्व विकास, सहभागिता र अधिकार अभिव्यक्तिको अभ्यास हुने यस्तो संरचनाको पुनर्गठन स्वागतयोग्य हुनुपर्ने हो । तर, यसपटक पुनर्गठनपछि धेरैजसो पूर्व सदस्यहरू, सरोकारवालाहरू र केही बालबालिकाबाट गुनासो र असन्तोष सार्वजनिक रूपमा आएको छ ।

नगरपालिकाको महिला तथा बालबालिका महाशाखाको समन्वयमा सूचना दिइर गरिएको कार्यक्रम भए पनि, पूर्व समितिका सदस्यहरूले आफूहरूको अनुभव, सुझाव र आवाजलाई बेवास्ता गरिएको आरोप लगाएका छन्। उनीहरूको भनाइ छ “हामीले जिम्मेवारीपूर्वक काम ग¥यौं, तर हाम्रो भनाइ नै नसुनी नयाँ समिति बनाइयो। न कुनै छलफल भयो, न त अनुभवको कदर गरियो ।”

बालसञ्जाल जस्तो ठाउँ, जहाँ बालबालिकाले नेतृत्व सिक्छन् र आफ्नो मत व्यक्त गर्न पाउँछन्, त्यहीँ उनीहरूको आवाज नसुन्नु आफैंमा विडम्बनापूर्ण कुरा हो। प्रक्रियामा कसरी निर्णय गरियो, को–कोले निर्णय लिए, प्रतिनिधि छनोट कसरी भयो — यी सबै विषयमा प्रस्टता नहुनु गलत सन्देश दिन सक्छ ।

नगरका १९ वटै वडाबाट दुई–दुई जना बालबालिकालाई बोलाएर पुनर्गठन गरिएको भनिए पनि, धेरै स्थानमा बाल क्लबहरूलाई जानकारी नपुगेको र सहभागी हुन नपाएको गुनासो आएको छ। कार्यक्रम आयोजना भए पनि सूचनाको पहुँच, संवादको शैली र समावेशीता पर्याप्त नभएको महसुस गरिएको छ ।

पूर्व समितिका सदस्यहरूको भनाइ अनुसार, “पुनर्गठन हुनु अस्वाभाविक होइन। तर त्यो प्रक्रिया न्यायपूर्ण, खुला र सहभागी हुनुपर्छ। तर यहाँ त हामी बोल्नै नपाउने गरी प्रक्रियाबाट बाहिर पारियौं ।”

बाल अधिकार र बालमैत्री शासनको कुरा गर्ने स्थानीय सरकारकै व्यवहार यस्तो हुँदा बालबालिकाले आफूलाई सुनेको महसुस गर्न सक्दैनन्। नेतृत्व सिक्ने भनेर बनाइएका संरचनामा उनीहरूको मत र भावना नलिइनु गम्भीर कमजोरी हो ।

अब सोच्ने बेला आएको छ

के बालबालिकाको सशक्तिकरण भन्ने कुरा शब्दमै सीमित रहने हो?
के उनीहरूको अनुभव, योगदान र भावना यो संरचनामा कुनै अर्थ राख्दैन?

अन्त्यमा, नेतृत्व सिक्ने अभ्यासले तब मात्र अर्थ राख्छ, जब त्यसमा सहभागिता र सम्मानको वातावरण हुन्छ। बाल सञ्जालको पुनर्गठनमा उठेका असन्तोषका आवाजलाई सुन्ने र सुधार गर्ने जिम्मेवारी नगरपालिकाको नै हो। “अब समय आएको छ जहाँ बालबालिकाले आफ्ना कुरा कसैले गम्भीर रूपमा सुनेको, आफूलाई पनि निर्णय प्रक्रियामा महत्त्व दिइएको महसुस गर्न सकून्, न कि बेवास्ता गरिएको ।“

 

 

रातो समाचार संवाददाता
थप जानकारी