
प्रेस सेन्टर नेपालको केन्द्रको घोषित कार्यक्रम अनुसार देशभर आईतबार पत्रकारको हकहित र सुरक्षाको माग गर्दै सरोकारवालामा ध्यानाकर्षण गराएको छ ।
सोही कार्यक्रम अन्तरगर्त प्रेस सेन्टर बागमती प्रदेश समितिले प्रदेश सरकारलाई र जिल्ला कार्यसमिति मकवानपुरले जिल्ला प्रशासन मकवानपुरमा ज्ञापनपत्र बुझाएको हो ।
प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष ध्रुव अधिकारी नेतृत्वको टोलीले आन्तरिक मामिला तथा कानून मन्त्रालयमा शान्ति सुरक्षा महाशाखा प्रमुख पदम ओझा मार्फत् मन्त्री सुरजचन्द्र लामिछानेलाई जिल्ल्ला कार्यसमिती अध्यक्ष एमपी शर्मा सहितको टोलीले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।
पछिल्लो समय सञ्चारकर्मीमाथि विभिन्न खालका आक्रमण हुन थालेको र संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित बन्न थालेकामा दुख व्यक्त गर्दै प्रेस स्वतन्त्रताको संरक्षणका लागि समयसापेक्ष सञ्चार कानुन निर्माणको माग गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
१७ बुद्धे ज्ञापनपत्रमा पत्रकारको हत्या छानविन, बेपत्ता पारिएका पत्रकारको अवस्था सार्वजनिकको माग, न्यूनतम पारिश्रमिकको कार्यान्वयन, मन्त्रालयले प्रदान गर्दै आइरहेको पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रमको बजेट वृद्धि, प्रदेश तहका विज्ञापनको समानुपातिक वितरण, पत्रकारका लागि सामाजिक सुरक्षा कोषको व्यवस्था, सञ्चार तथा सवारी साधन खरीदमा भन्सार छुट लगायतका माग उल्लेख गरिएको हो ।
कार्यक्रममा सेन्टरका केन्द्रिय सदस्य, बागमती प्रदेश पदाधिकारी जिल्ला कमिटीका पदाधिकारी हरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्