भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहलाई सहजीकरण गर्न उच्च राजनीतिक नेतृत्व नै संलग्न भएको पाइएको छ।

कांग्रेसभित्र उपल्लो तहमा प्रभाव राख्ने कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा र तत्कालीन गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मन्जु खाण नै लेनदेनमा संलग्न भएको अडियो बाहिरिएपछि गिरोहलाई सहजीकरण गर्न राजनीतिक नेतृत्व नै संलग्न भएको आशंका बढेको छ। साथै गृह मन्त्रालयको निरन्तर उत्तराधिकारीका रूपमा आएका तत्कालीन बालकृष्ण खाणले नै भुटानी शरणार्थीको समस्या समाधान गर्ने नाममा गिरोहलाई पैसा उठाउन बल पुग्नेगरी ताकेता गर्दा उनको संलग्नता लुकाउने ठाउँ भेटिएको छैन। यद्यपि खाण र आरजु राणाले यो विषयमा आफ्नो संलग्नता नभएको बताएका छन्। यही प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पक्राउ नै परिसकेका छन्।

गृह मन्त्रालयमा नीति मिलाउने कार्यमा एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राई संलग्न थिए। राई तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार नियुक्त भएका थिए। उनी नियुक्त भएपछि नै गिरोहले आफ्नो काम थालेको थियो। सो गिरोहले प्रशासनिक काममा राईलाई प्रयोग गरेको थियो भने रायमाझीले भुटानी शरणार्थी स्थायी र दीर्घकालीन समस्या समाधान गर्न कार्यदल गठनका लागि तत्कालीन गृहमन्त्री थापालाई मनाएका थिए।

भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहलाई सहजीकरण गर्न उच्च राजनीतिक नेतृत्व नै संलग्न भएको पाइएको छ।

‘सल्लाहकार राई गोप्य भन्दै सधैं शरणार्थीहरूको फाइल बोकेर हिँड्ने गर्थे। रायमाझी मन्त्रीलाई भेटेर मनाउने गर्थे, त्यही क्रममा कार्यदल बनेको हो,’ तत्कालीन मन्त्रीको सचिवालयमा बसेर काम गरेका एक सदस्यले भने। उनका अनुसार रायमाझीकै दबाबमा कार्यदल बनेपछि गिरोहका सदस्यहरू निकै सक्रिय भएका थिए।

स्रोतका अनुसार गिरोहमा संलग्न मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी, पाँचथरका कुमार गुरुङ, दाङका सन्देश शर्मा छन् भने एकजना अमेरिका पनि बस्छन्। प्रहरीले अमेरिकामा रहेका व्यक्तिको नाम सार्वजनिक गर्न चाहेको छैन। उनी अमेरिका पुगेपछि मात्रै प्रहरीमा यस प्रकारको गहिरो सूचना आएको थियो। ‘यतिबेला अनुसन्धानलाई हेर्दा रायमाझी र राई नीति मिलाउने, गिरोहका सदस्यहरू राजनीतिज्ञहरूलाई मिलाउनेमा सक्रिय हुने गरेको बुझिन आएको छ, पक्राउ परेकाहरूको बयानलाई हेर्ने हो भने पनि यही देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने। तर एमाले सचिव रायमाझी अहिले फरार छन्। प्रहरीले पक्राउ पुर्जी जारी गर्नेबित्तिकै उनी फरार भएका हुन्। उनी फरार भए पनि विभिन्न शंका–उपशंका उत्पन्न भएपछि प्रहरीले उनको खोजी जारी राखेको बताइएको छ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले अनुसन्धानमा कुनै पनि कमजोरी नभएको र शंका गर्नुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै जोजो भए पनि अनुसन्धानको दायरामा ल्याइने बताए। ‘फरारहरू पनि पक्राउ पर्छन्, अझै अनुसन्धान गर्न बाँकी रहेकाले अरू पनि पक्राउ पर्छन् । अनुसन्धानमा कुनै कमजोरी छैन,’ एसएसपी  कार्कीले भने।

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा र तत्कालीन गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मन्जु खाणले पैसा बुझेको अडियो प्रहरीलाई अमेरिकाबाट आएको स्रोतको भनाइ छ। सो अडियो सार्वजनिक भइसकेपछि राजनीतिक वृत्त तरंगित भएको छ।

गृह मन्त्रालयमा पाइला पनि नटेकेका तत्कालीन शिक्षा सचिव पाण्डेलाई गिरोहकै बलमा तत्कालीन गृहमन्त्री खाणले नै ल्याएका थिए। प्रहरीले तत्कालीन गृह सचिव पाण्डे प्रमाणसहित पक्राउ गरिसकेको छ। गृह मन्त्रालयमा प्रतिवेदन बुझाइसकेपछि सो प्रतिवेदनको सिंगो अंश नै गिरोहको हातमा पुर्‍याइएको थियो। त्यसपछि राजनीतिक व्यक्तिहरूको आडमा गिरोहले काम सुरु गरेको थियो। तत्कालीन गृहमन्त्री थापाका पालामा सुरु भएको पैसा उठाउने धन्दामा उच्च राजनीतिक तहले सहजीकरण गर्ने र उनीहरूलाई पनि पैसा बुझाएर गिरोह सुरक्षित हुन थालेको देखिन्छ। सो कार्यमा तत्कालीन गृहमन्त्री खाण र सचिव पाण्डेले पनि निरन्तरता दिएको बताइन्छ।

गृहमन्त्री थापाकै समयमा २०७६ असार २९ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनलाई कसरी र कसले बाहिर ल्यायो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। गिरोहको स्वार्थसिद्ध हुने गरी शंकास्पद प्रतिवेदन कार्यान्वयनमा तत्कालीन गृहमन्त्री खाण नै किन अग्रसर भए भन्ने बारेमा पनि प्रहरीले शंकाको घेरामा राखेको छ। ‘आरजु र मन्जुले रकम लिएको अडियो सार्वजनिक हुनु खाण गृहमन्त्री भएकै बेला गिरोहको स्वार्थ अनुकूल प्रतिवेदन कार्यान्वयनमा जोड दिनु तथा उनले नै रोजेका सचिव प्रमाणसहित पक्राउ पर्नु यसका केही शंका गर्ने ठाउँ छ। यो विषयमा तत्कालीन गृहमन्त्री खाणले नै स्पष्ट पारेको राम्रो, यता प्रहरी अनुसन्धान पनि जारी रहन्छ,’ प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीले भने।

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा र तत्कालीन गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मन्जु खाणले पैसा बुझेको अडियो प्रहरीलाई अमेरिकाबाट आएको स्रोतको भनाइ छ।

ती अधिकारीका अनुसार नेपाली कांग्रेसका केही उच्च नेताहरूको पनि नाम आएकाले उनीहरूको विषयमा पनि प्रहरीले प्रमाण संकलन गरिरहेको छ। तर उनीहरू कोको हुन भन्नेबारे प्रहरीले केही बताएको छैन।

२९ असार २०७८ मा गृहमन्त्री भएका खाँणले २७ साउनमा पाण्डेलाई गृह मन्त्रालय ल्याएका थिए। उनी आएपछि वा उनीभन्दा अघिका गृहसचिवमध्ये कोही एकले त्यो प्रतिवेदन गिरोहको हातमा पुर्‍याएको हुन सक्ने प्रहरीको अनुमान छ। पक्राउ परेका आरोपीहरूले त्यसबारे केही बताएका छैनन्। बालकृष्ण पन्थीको कार्यदलले छुटेका शरणार्थीको सूचीमा समावेश गर्न ४२९ जनाको नाम सिफारिस गरेको थियो।

यो प्रतिवेदनमा नै नक्कली शरणार्थी परेको भनेर प्रश्न उठेकोमा उक्त प्रतिवेदन अध्ययन गरी भुटानी शरणार्थी समस्या समाधान गर्न सुझाव पेस गर्ने गरी पाण्डेले ‘सचिवस्तरीय’ निर्णयबाट अर्को समिति गठन गरेका थिए। उनले २०७८ असोज १४ मा झापाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरे पनि झापा जिल्ला प्रशासनले कुनै चासो नदिँदा तत्कालीन गृहमन्त्री खाण र सचिव पाण्डे अलमलमा परेका थिए।

प्रहरीले अनुसन्धान गरिरहेका बेला पूर्वप्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा देउवा र तत्कालीन गृहमन्त्री खाणकी पत्नी मन्जुले पनि पैसा लिएको भन्दै एउटा अडियो सार्वजनिक भएपछि प्रहरीले खाण पनि अनुसन्धानमा तानिन सक्ने जनाएको छ। त्यसका लागि खाणले नै सहजीकरण गर्नुपर्ने प्रहरीको भनाइ छ। अडियोमा आरजुलाई साढे २ करोड र मन्जुलाई उनको घरमै गएर ६ करोड रूपैयाँ बुझाएको भन्ने अडियो सार्वजनिक भएपछि खाणको संलग्नता हुन सक्ने शंकालाई बल पुगेको हो।

तत्कालीन समयमा मन्त्रिपरिषद्ले कार्यदल गठन गर्ने निर्णय गरेअनुसार तत्कालीन गृहमन्त्री रामबहादुर थापाले २०७६ जेठ ३० मा पन्थीको संयोजकत्वमा तीन सदस्यीय टोली बनाएका थिए। ललितपुरको महांकाल गाउँपालिकाका अध्यक्ष रहेका गणेश केसीलाई विज्ञका रूपमा सदस्य बनाइएको थियो।

त्यस्तै शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्य सचिव थिए। आइतबार काठमाडौं जिल्ला अदालतले पाण्डेसहित हाल प्रहरी नियन्त्रणमा रहेका आठजनालाई थप सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।

भुटानबाट विस्थापित भई आएका १ लाख १३ हजारभन्दा बढी शरणार्थी नेपालबाट अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड लगायत देशमा पुनर्वासमा गइसकेका छन्। तेस्रो देश जान अनिच्छुक ६ हजार ३६५ जनालाई नेपालमै कार्य सहमति दिने विषय अघि बढेकोमा गिरोहले ‘छुट’ शरणार्थी खडा गरेर पैसा उठाउन थालेको थियो। गिरोहले एकजनाबाट १० लाखदेखि ५० लाख रूपैयाँसम्म असुलेका थिए। गिरोहले दाङ, अर्घाखाँची, सल्यान, झापा, मोरङ, सुनसरी, बागलुङ, गोर्खा, कास्की, प्युठानलगायत जिल्लाका युवाबाट रकम उठाएका थिए।

‘रायमाझीबारे पार्टी बैठकले निर्णय गर्ने’

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आरोपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई अहिले पक्राउ परिसकेका छन्। उनी एमाले सल्लाहकार कमिटी सदस्य हुन्। इन्द्रजित र उनका छोरा निरजले २०७६ असारदेखि चैतसम्म ५ करोड ५० लाख रूपैयाँ लिएको आरोप लागेको छ। निरज भने फरार छन्। उनलाई पार्टीले कारबाही गरेको छैन। त्यसैगरी अर्का आरोपी टोपबहादुर रायमाझी फरार छन्। विश्वस्त सूत्रका अनुसार अहिले रायमाझी भारतको लखनउमा घुमिरहेका छन्। तर उनलाई नेपाल प्रहरीले बुटवल–भैरहवातिर खोजी गरिरहेको छ। उनी एमाले सचिव र सचिवालय सदस्यसमेत हुन्।

एमालेको केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा मंगलबार सचिवालय बैठक बस्दैछ। यही वैशाख २८ देखि ३० गतेसम्म केन्द्रीय कमिटीको पाँचौं बैठक पनि काठमाडौंमै बस्दैछ। एमाले अध्यक्ष केपी ओलीले रायमाझीले फरार हुनुभन्दा प्रहरीलाई सहयोग गर्नुपर्ने र यस्तो विषय राजनीतिक नभएर व्यक्तिगत भएकाले पार्टी जवाफदेही नहुने भन्दै आफ्ना नेता–कार्यकर्तालाई स्पष्ट पारिसकेको जनाइएको छ। अनुसन्धान निष्पक्ष भए रायमाझीले नै प्रहरीलाई सहयोग गर्नुपर्ने धारणा ओलीको रहेको बताइएको छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आरोपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई अहिले पक्राउ परिसकेका छन्।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रहरीको अनुसन्धान स्पष्ट रूपमा बाहिर नआएसम्म पार्टीले कुनै पनि कदम नचाल्ने बताइसकेका छन्। ‘यस प्रकरणमा प्रहरी अनुसन्धान जारी छ, निष्कर्ष आइसकेको छैन, प्रहरीको अनुसन्धान नटुंगिएसम्म पार्टी पर्ख र हेरको अवस्थामा रहन्छ। पार्टीको सचिवालय र केन्द्रीय कमिटीको बैठक पनि बस्दैछ। त्यहीँ छलफल गरेर निर्णय लिन्छौं,’ प्रचार विभाग उपप्रमुख रिजालले भने।

प्रहरी कार्यालयमा पुगे पूर्वगृहमन्त्री खाण !

तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले सोमबार साँझ काठमाडौं प्रहरी परिसर टेकु पुगेर अनुसन्धानलाई सघाउने वचन दिएका छन्। बोलाएको बखत आफू जुनसुकै बेला उपस्थित भई अनुसन्धानमा सहयोग गर्ने वचन उनले दिएको प्रहरी उच्च स्रोतले जनाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाण आफैं प्रहरी कार्यालय पुगेका हुन्। त्यहाँ पुगेर उनले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। पक्राउ परेका आरोपीहरूले पूर्वगृहमन्त्री खाणलाई ४ करोड ७५ लाख दिएको भन्ने अडियो रेकर्ड सार्वजनिक भएको थियो। अडियो रेकर्डमा उनकी पत्नी मन्जु खाण मुछिएपछि उनलाई नैतिक संकट परेको छ।

नागरिक न्युजबाट साभार गरिएको छ ।