मकवानपुरको राक्सिराङ–४ गिङगुङ बस्तीमा रहेका स्थानीयहरुले रिद्धि सिद्धि  सिमेन्ट उद्योगको खानीको कारण सास्ती खेप्नु परेको बताइरहेका छन् ।

नेपाल चेपाङ संघले बिहीबार हेटौंडामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै हिउँदमा धुवाँ र धुलो र वर्षमा  पहिरोको त्रासमा रहनु परेको बताए ।

दिउँसो बस्तीमै हिड्दा पनि माथिबाट खानीको ढुंगा खसेर ज्यान जाने भन्ने त्रासमा दैनिकी जाने गरेको बताइरहेका हुन् । उद्योगले खानी सञ्चालन गर्नुअघि २०७४मा बस्तीको ७५ प्रतिशत जग्गा खरिद गरेर बाँकी जमिन पनि खरिद गर्ने सहमतिमा खानी सञ्चालन गरेको तर, बाँकी जग्गा खरिद नगरिदिएको नेपाल चेपाङ संघ, राक्सिराङ-४ नम्बर वडाका अध्यक्ष जितन चेपाङले बताए।

अहिलेको चलन चल्तीमा खरिद गर्न अनुरोध गरेपनि  उद्योगले ६ वर्ष अघिकै मूल्यमा खरिद गर्ने भन्दै  जनाएर आफूहरुको जग्गा हडप्ने तयारी थालेको चेपाङको आरोप छ।

चेपाङ संघ बागमतीका अध्यक्ष खुशीलाल प्रजाले खानीको ज्यादती विरुद्धमा शुक्रबारदेखि  संघले संघर्षका कार्यक्रम गर्ने बताए।  खानीको सम्पूर्ण काम बन्द गराउने, उत्खनन निकासी, ढुवानी बन्द गराइने उनको भनाई छ ।

खानी उत्खनन गर्दा बग्ने माटो र बस्तीको व्यवस्थापन, समयमै धुवाँधुलो नियन्त्रण, खानी प्रभावित क्षेत्रको १सय३ रोपनी जग्गामा बसोबास गर्ने ९घर चेपाङ परिवारको उचित स्थानको खोजी गरि बसोबासको व्यवस्था गर्नुपर्ने माग रहेको चेपाङले बताए ।